सप्तरीको शम्भुनाथमा बालविकासका कलिला बालिकालाई सेनिटरी प्याड वितरण, लाखौं अनियमितताको पर्दाफास

राजविराज — सप्तरीको शम्भुनाथ नगरपालिकाले छात्राहरुलाई वितरण गर्ने सेनिटरी प्याड खरिद र वितरण प्रक्रियामा व्यापक अनियमितता गरेको खुलासा भएको छ। नगरपालिकाले मौज्दात नहेरी खरिद गरेर नियमन नै नगरी आवश्यक नपर्ने समूह र अनुमानका आधारमा प्याड वितरण गरेर अनियमितता गरेको खुलासा भएको हो।
महालेखा परीक्षकको आव ०८०/०८१ को प्रतिवेदन अनुसार शम्भुनाथ नगरपालिकाले २०८०/८१ मा ‘एन्जल टच हाईजिन म्यान्युफ्याक्चरिङ’ कम्पनीसँग प्रति पोका २०.७५ रूपैयाँ दरले जम्मा ६ लाख ८४ हजार २२९ रुपैयाँ बराबरको प्याड खरिद गरेको थियो। तर, सो वितरणमा पालिकाले सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ को पालना नगरेको प्रतिवेदनमा उल्लेख छ।
सेनिटरी प्याड वितरण कार्यक्रम कक्षा ६ देखि १२ सम्मका छात्राहरुकालागि लक्षित भए पनि शम्भुनाथ नगरपालिकाले बालविकासदेखि कक्षा ५ सम्मका छात्राहरुलाई समेत वितरण गरेको छ। सामान्यतया रजस्वला नहुने मानिने उमेर समूहमा पर्ने यी छात्राहरुलाई प्याड वितरण गरिनु नीतिविपरीत र अनावश्यक खर्च भएको महालेखा परीक्षण प्रतिवेदनको ठहर छ।
पालिका र विद्यालय दुवैले गत वर्षदेखि मौज्दात रहेको प्याडको अभिलेख नराखेको, मौज्दात हेर्नेतर्फ कुनै ध्यान नदिइएको, त्यसैले वर्षेनी नया खरिद गरिएको उल्लेख छ। प्रतिवेदनमा भनिएको छ—‘प्याड वितरण गर्दा मौज्दातको गणना गरी मात्र आवश्यक परिमाणमा नयाँ खरिद गर्नुपर्नेमा मौज्दातको अनुगमन नगरी बारम्बार खरिद गर्नु दोहोरो खर्चको उदाहरण हो।’
विद्यालयमा अध्ययनरत छात्राहरुको वास्तविक संख्या नतोकिकन, बालविकासदेखि उच्च कक्षासम्मका सबै छात्राहरुको गणनामा प्याड वितरण गरिएको पाइएको छ। त्यसैगरी, प्याड भरिएका बोराको अनुमानित संख्याका आधारमा हिसाब गरिएकाले प्रत्येक विद्यालयमा बढी प्याड वितरण भएको देखिएको छ।
श्री बुद्धिलाल नमुना माविमा ५ हजार ५४० प्याड आवश्यक भए पनि ९ हजार ४४० प्याड वितरण गरिएको छ। यसरी एक दर्जनभन्दा बढी विद्यालयमा २ लाख ९१ हजार ११८ रुपैयाँ बराबरको प्याड आवश्यकता भन्दा बढी वितरण गरिएको हो।
यो सम्पूर्ण प्रक्रियाबाट नगरपालिकाले पारदर्शिता र बचतको सिद्धान्त विपरित कार्य गरेको महालेखाको ठहर छ। आवश्यकताको मूल्याङ्कन नगरी गरिएको खरिद तथा वितरण, मौज्दातको बेवास्ता, र नीतिविपरीत कक्षा ६ भन्दा मुनिका छात्राहरुलाई समेत प्याड वितरण गरी दोहोरो खर्च तथा बजेटको दुरुपयोग भएको महालेखा परीक्षकको निष्कर्ष छ।
शम्भुनाथ नगरपालिकाले किन यति ठूलो संख्यामा आवश्यकता भन्दा बढी प्याड खरिद गरी वितरण गर्यो? र, बालविकास कक्षासम्मका छात्राका नाममा प्याड वितरण गरेको देखाएर बजेट कहाँ खर्च गर्यो ? भन्ने प्रश्न अहिले चासोको विषय बनेको छ।