भारतीय नागरिकले नक्कली नेपाली नागरिकता प्रयोग गरी ५१ करोडभन्दा बढीको अवैध सम्पत्ति आर्जन गरेको खुलासा

राजधानी– पर्साको विरगञ्जमा मुकाम तयार गरी बसेका एक जना भारतीय नागरिकले नक्कली नेपाली नागरिकता बनाई ५१ करोडभन्दा बढीको अवैध सम्पत्ति आर्जन गरेको खुलासा भएको छ। भारतको राजस्थान निवासी निरञ्जनकुमार अग्रवालले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएर व्यापक सम्पत्ति संकलन गरेका हुन्।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अग्रवालविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गर्दै उनीसहित चार जनालाई प्रतिवादी बनाएको छ। विभागका अनुसार अग्रवालले नागरिकता लिएपछि पत्नी रितुदेवीलाई वैवाहिक अंगीकृत नागरिकता दिलाए र त्यसपछि आफू, परिवारका सदस्य र अरूको नाममा करोडौँको सम्पत्ति जोडेको देखिएको छ।
विभागको अभियोगपत्रमा उल्लेख छ, ‘अग्रवालले झुटा विवरणमा आधारित नागरिकता प्राप्त गरी त्यसको दुरुपयोग गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेका छन्।’ प्रारम्भिक अनुसन्धान अनुसार उनले ५१ करोड ११ लाख ९५ हजार रुपैयाँबराबरको सम्पत्ति अवैध स्रोतबाट जोडेको पुष्टि भएको छ, जसमा धेरै सम्पत्ति अन्य व्यक्तिका नाममा रहेको देखिएको छ।
यो घटनाले नेपाली नागरिकताको दुरुपयोग गर्दै कालोधन ओसारपसार र सम्पत्ति शुद्धिकरणको गम्भीर चुनौती देखाएको छ। विभागका अनुसार अग्रवालसँग सम्बन्धित अन्य सम्पत्तिहरूको अनुसन्धान अझै जारी छ।