भारतीय अभिनेता सलमान खानको घर बाहिर ३ राउण्ड गोली चल्यो, अनुशन्धान गर्दै प्रहरी

काठमाडौं– भारतीय फिल्म अभिनेता सलमान खानको बान्द्रास्थित घर बाहिर गोली चलेको छ। प्रहरीका अनुसार दुई अज्ञात व्यक्तिले गोली चलाएका हुन।
मुम्बई प्रहरीले आइतबार बिहान करिब ५ बजे गोली चलेको जनाएको छ। घटनापछि मुम्बई प्रहरीको अपराध शाखा घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले तीन राउण्ड फायरिङ भएको जानकारी पाएको थियो।
सलमान खानको घरबाहिर प्रहरी र फोरेन्सिक विभागको टोली उपस्थित छ। सलमान खानलाई बेलाबेलामा ज्यान मार्ने धम्की आउने गरेका छन्।
एक पटक पत्र पठाएर ‘मुसेवालाको जस्तै हालत गरिदिन्छु’ भन्दै धम्की दिईएको थियो। सिद्धु मुसेवालाको गोली हानेर हत्या गरिएको थियो। उनी पञ्जाबका गायक तथा नेता थिए। सलमानलाई ग्याङस्टार लरेन्स बिश्नोईले पनि ज्यान मार्ने धम्की दिदै आएका छन्।
केही समय अघि लरेन्सले भनेका थिए, ‘जुन दिन अभिनेताको सुरक्षा हटाइनेछ, त्यो दिन सलमानको जीवनको अन्तिम दिन हुनेछ।’ उनी अगाडि भन्छन्, ‘सलमानले म चार–पाँच वर्षको हुँदा कालो हरिण मारेका थिए। बिश्नोई समुदायका मानिसले कालो मृगको पूजा गर्छन् । सलमानले आफ्नो अपराधको लागि हाम्रो समाजसँग माफी पनि मागेका छैनन्। म सानैदेखि उनीप्रति रिसाएको छु।’
लरेन्स बिश्नोईले सलमानले आफूहरुको समाजलाई निकै तल देखाएको दाबी गर्दै आएका छन्। लरेन्स बिश्नोई पञ्जाब, हरियाणा, राजस्थान र हिमाञ्चल प्रदेशका सबैभन्दा खतरनाक गिरोहका नेता हुन्। उनी प्रायः जेलबाट गिरोह चलाउँछन्। उनीसँग महँगो पेस्तोल र बन्दुकको भण्डार पनि छ। उनले १५ वर्षअघि कलेजमा हावामा फायरिङ गरेर आफ्नो हैसियत स्थापित गरेका थिए।