फिल्म खेल्नमा ब्यस्त छन् माधव नेपाल, भोली ओलीको पालो

काठमाडौं– एक वर्षे प्रधानमन्त्री बन्न एकपछि अर्को गठवन्धन फेर्दै हिडेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अहिले फिल्म खेल्नमा ब्यस्त भएका छन्।

कलाकार रमित ढुंगानाको निर्देशनमा बनिरहेको फिल्म ‘नमेटिने घाउ’ मा अध्यक्ष नेपालले अभिनय गरेका हुन्। मंगलबार बिहान काठमाडौंको कोटेश्वर क्याम्पसमा भएको छायाङ्कनसेटमा नेपालको दृश्य खिचिएको थियो। एक घण्टा बढी सुटिङ गरेका नेपालले अभिनयसहित संवादसमेत बोलेका थिए।

उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही र नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको पनि दृश्य खिचिएको थियो। यस फिल्ममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय हुनेछ। प्रधानमन्त्रीको भूमिकामा देखिन लागेका ओलीको सुटिङको सेड्युल बिहीबारका लागि तय भएको छ।

एसिडपीडितको कथामा आधारित यस फिल्ममा पर्साकी एसिडपीडित मुस्कान खातुनसहित सिम्रन खड्का सुरवीर पण्डित लगायतका कलाकारको मुख्य अभिनय छ। रमितकै लगानी रहेको यो फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन्।

यो फिल्मको पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती, र भक्तपुरमा छायांकन भइसकेको छ। यसैसाता फिल्मको छायांकन सक्ने तयारी रहेको निर्माण नियन्त्रक आरजे प्रणव सुवेदीले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *