४ लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुनलाई जेल पठाईयो

काठमाडौं– पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुन सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छन्। सुप्रिम सहकारी प्रकरणमा अदालतले मागेका ४ लाख धरौटी जम्मा गर्न नसकेपछि उनी कारागार चलान भएका हुन।

अखिल क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि धरौटीमा रिहा गर्न आदेश भएको थियो। आज शुक्रवार ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि दीपेश भैरहवास्थित जिल्ला कारागार चलान भएका हुन्।

उक्त मुद्दामा प्रतिवादी बनाएका २८ जनामध्ये फरार २० जनालाई प्रतिवादी म्याद जारी गरिएको छ। अदालतले रोशनी गुरुङ र निता थापालाई जनही २ लाख, दुर्गा चापागाईँ पाण्डेलाई १८ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार, दीपेश पुनलाई ४ लाख धरौटी, नवीन अछामीलाई १० लाख धरौटी मागेको थियो।

प्रतिवादीमध्ये कास्की कारागारमा रहेका कुमार रम्तेल र भविश्वर अर्याललाई झिकाएर बयान लिने जनाईएको छ।

इजलासमा दीपेशको तर्फबाट शिवप्रसाद गौडेल, रोशनी गुरुङको तर्फबाट अभिवक्ता कृष्णप्रसाद पोखरेल, निता थापाको तर्फबाट खेमबहादुर पुन, लालबहादुर बस्नेत, हेमराज शर्माले बहस गरेका थिए भने दुर्गा चापागाईँ पाण्डेको तर्फबाट शिव गौडेल, बाबुराम पाण्डे, जोखबहादुर खत्री तथा नवीन अछामीको तर्फबाट होमराज पन्त, दीपक न्यौपाने, जोखबहादुर खत्रीले बहस गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट