बैंकबाट डेढ करोड चोर्ने मध्येका २ जना पक्राउ, पैसा भारत पुर्याएको आशंका

वीरगन्ज– पर्साको वीरगञ्जस्थित नबिल बैंकको शाखा कार्यालयबाट करिव डेढ करोड चोरी गर्ने मध्येका २ जना पक्राउ परेका छन्। उनीहरु पक्राउ परेको पर्साका एसपी कुमोद ढुंगेलले पुष्टि गरे।
पक्राउ परेकाहरुको पहिचान प्रहरीले खुलाएको छैन। घट्नामा संलग्न अन्य ब्यक्ती फरार रहेकाले अनुशन्धानमा बाधा पुग्ने भन्दै प्रहरीले पहिचान गोप्य राखेको छ।
सोमबार बिहान करिव ४ बजे बैंकबाट एक करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको थियो। चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको छ। घट्ना भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ।
सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। ताला फोडेर रकम चोरी गरेपछि चोरहरुले फर्किने क्रममा नयाँ ताला लगाई भागेका थिए।
५÷६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएका थिए। चोरी भएको पैसा लिएर चोरहरु भारत पुगेको आशंका गर्दै प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरिरहेको छ।