आफुविरुद्ध षडयन्त्र भएको दावी गर्दै षडयन्त्रकारीको नाम सार्वजनिक गर्ने सन्दीप लामिछानेको प्रतिज्ञा

राजविराज– बलात्कारको कसुरमा जिल्ला अदालत दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन्।

बुधबार टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा हुनासाथ उनले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया जनाएका हुन। टोलीमा नपरेपछि उनले निराशायुक्त स्ट्याटर लेखेका छन्।

टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका लामिछानेले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन्। ‘मैले पोस्ट गर्नबाट लामो समय आफूलाई टाढा राखेँ। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन। यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान्ले आशीर्वाद दिउन्। म सबै कुरा भगवान्मा छोड्छु। सत्य समयले बताउनेछ, बाहिर नआएसम्म।’– उनले लेखेका छन्।

उनले षडयन्त्रमा भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने प्रतिज्ञासमेत गरेका छन्।

बुधबार आइसिसी टी–२० विश्वकप २०२४ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ। टोलीमा सागर ढकाल र कमलसिंह ऐरीले स्थान बनाएका छन् भने आकास चन्द र विवेक यादव बाहिरिएका छन्।

नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा ब्याटरको रुपमा छन् भने दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन् भने स्पिनरको रुपमा सागर ढकाल र ललित राजवंशी छन्।

टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट