सुकुना क्याम्पसमा विद्यार्थी संगठनका अध्यक्षको हानाहानः झगडा छुट्यान गएका दुवै आफैं भिडे

विराटनगर– क्रिकेट खेल्ने विषयमा विवाद हुँदा मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा शुक्रबार साँझ झडप भएको छ। दुई पक्षबीच भएको झडपमा क्याम्पसका स्ववियु सभापति सन्तोष लिम्वु घाईते भएका छन्। उनको टाउकोमा १० वटा टाँका लागेको छ।

प्रहरीका अनुसार क्याम्पस परिसरभित्रको मैदानमा क्रिकेटको अभ्यास गरिरहेका विद्यार्थीहरुबीच साँझ पौने ७ बजे विवाद भएको थियो। सुन्दरहरैँचा–१२ घर भएका स्ववियु सभापति लिम्बू र सोही क्याम्पसका अनेरास्ववियुका अध्यक्ष बेलबारी नगरपालिका–१० का योगेश दाहाल विवाद मिलाउन गएका थिए।

दुवै जनाले सम्झाइबुझाइ गर्दा पनि विवाद नमिलेपछि लिम्बूले क्रिकेटको स्टमले हान्दै विद्यार्थीलाई क्याम्पस परिसर बाहिर खेद्न थाले। त्यही क्रममा स्टमले अनेरास्ववियुका अध्यक्ष दाहालको टाउको र खुट्टामा लागेको थियो।

त्यसैको रिसमा आक्रोसित भएका दाहालले क्याम्पसको गेट बाहिर निस्कनसाथ लिम्बूलाई चिर्पटले हानेर घाईते बनाएको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। लिम्बूको टाउकोमा गम्भिर चोट लागेको उनले जानकारी दिए।

उनलाई तत्कालै सुन्दरहरैंचा नगरपालिका–१२, विराटचोकमा रहेको सुकुना सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको आर्या न्युरो अस्पताल ल्याईएको छ। उनको टाउकोमा १० वटा टाँका लगाइएको प्रहरीले जनाएको छ।

अनेरास्ववियुका अध्यक्ष दाहाल हाल फरार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट