डाक्टर कुट्ने रास्वपाका २ जना कार्यकर्ता पक्राउ, एक जना अझै फरार

विराटनगर– रिसईबी साँध्न डाक्टरलाई कुटपिट गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई जना कार्यकर्ता पक्राउ परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ३६ वर्षीय सुमन श्रेष्ठ र मंगलबारे युवा क्लबका अध्यक्ष ४६ वर्षीय पिपलराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो। दुवैलाई झापाको भद्रपुर ४ बाट पक्राउ गरिएको मोरङ प्रहरीका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
श्रेष्ठ र गिरीसहित तीन जनाविरुद्ध चिकित्सक कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दर्ता छ। संलग्न भनिएका सानु रोका भने फरार छन्। उनीहरु विरुद्ध मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत मेडिकल अधिकृत ब्रोमिस बुढाथोकीमाथि कुटपिट गरेको आरोप छ।
३ जेठको दिउँसो खाजा खाएर फर्किने क्रममा मोरङको पथरी शनिश्चरे १ का २५ वर्षीय बुढाथोकीमाथि उनीहरुको समूहले आक्रमण गरेको थियो। डाक्टर बुढाथोकीसँग उनीहरुको पुरानो रिसिइबी रहेको जनाईएको छ।
चिकित्सक कुटपिट गर्नेलाई पक्राउ तथा शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलनमा थिए। अस्पतालको ओपिडी सेवा ठप्प थियो। श्रेष्ठ र गिरी पक्राउ परेपछि आन्दोलन फिर्ता भएको छ।