विश्वकपका लागि १४ जनाको अपुरो टिम सार्वजनिक गर्दै नेपाल, सन्दीपको भिसा अझै अन्यौलमा

काठमाडौं– वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि नेपालले आज १४ जना मात्रै खेलाडीको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। सन्दीप लामिछानेको प्रतिक्षामा यसरी अधुरो टिम सार्वजनिक गर्न लागिएको हो।

विश्वकप क्रिकेटका लागि आज सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नुपर्ने छ। तर, नेपाल क्रिकेट संघ क्यानले भने आइसिसीलाई अन्तिम सूची सार्वजनिक गर्नका लागि समय थप गर्न आग्रह गरिसकेको छ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने यसअघिको विश्वकप स्क्वाडमा थिएनन्। उनी अदालतको कानुनी प्रक्रियामा रहेकाले समावेश नगरिए पनि उच्च अदालत पाटनबाट सफाइ पाएपछि विश्वकपको स्क्वाडमा समावेश गर्न क्यानले निलम्बनसमेत फुकुवा गरिसकेको छ।

आइसिसीलाई पनि यसअघि नै पत्राचार गरेर जानकारी गराएका क्यानका पदाधिकारीहरू अहिले आएर सन्दीपको भिसा अमेरिकन राजदूतावासबाट ‘रिजेक्ट’ भएपछि तनावमा छन्। लामिछानेको भिसाका लागि राजनीतिक भेटघाट तिव्र पारिएपछि हालसम्म सकारात्मक सन्देश प्राप्त भएको छैन।

जसका कारण क्यानले १४ जनाको टिम सार्वजनिक गर्ने तयारी गरेको हो। नेपालले अन्तिम नामावली सार्वजनिक गर्न २ जुनसम्मको समय माग गरेको छ। क्यान स्रोतका अनुसार सन्दीपको भिसा लागेर जुन २ भित्र अमेरिका जान पाएको खण्डमा उनलाई पनि समावेश गरेर अन्तिम १५ को सूची सार्वजनिक गरिने छ।

उच्च अदालतबाट सफाइ पाएपछि सन्दीप आफूसँग अझै २ वर्षको भिसा भएको भन्दै अमेरिका जाने कुरामा ढुक्क देखिएका थिए । तर, जाने तयारीमा रहेका बेला सन्दीपको यसअघिको भिसा रद्द भएको इमेल आयो। त्यसपछि उनी छाँगाबाट खसेको जस्तै भए। भिसाका लागि नयाँ प्रकृया सुरु भयो। उनले आवेदन गर्दा दूतावासबाट भिसा रिजेक्ट भएपछि अहिले नेपाल क्रिकेट संघ क्यान र सरकारले पहल थालेका छन्।

यस विषयमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, युवा तथा खेलकुदमन्त्री र राखेपले सहजीकरण गरिरहेको बताइएको छ। तर, सन्दीपको भिसा प्रक्रिया अन्योलमै छ। यता, सामाजिक सञ्जाल प्रयोगकर्ता भने सन्दीपको भिसा लागेको भन्दै भन्दै प्रचार गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट