चालक पिसाव गर्न झरेपछि मलामी बोकेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

धनकुटा– मलामी बोकेर घाटतर्फ जाँदै गरेको ट्याक्टर आश्चर्यजनक रुपमा दुर्घटना हुँदा सोमबार धनकुटाको छथर गाउँपालिका–४ पाथीभरामा एक जनाको मृत्यु भयो। अपरान्ह करिब ५ बजे भएको दर्घटनामा १८ जना मलामी घाईते भए। उनीहरु मध्ये ४ जनाको अवस्था गम्भिर छ।

मृत्यु हुनेमा छथर जोरपाटी–५ ताम्लिङका ४५ वर्षीय बीरबहादुर खनाल रहेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो। गम्भीर घाइते भएका छथर जोरपाटी गाउँपालिका–५ का ६० वर्षीय ढकबहादुर घिमिरे, छथर जोरपाटी गाउँपालिका–४ का ४३ वर्षिय अर्जुन थापा, सोही ठाउँका ४६ वर्षीय रेगिन्द्र अधिकारीसहित ४ जनाको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ।

प्रहरीका अनुसार दुर्घटना हुँदा चालक ट्याक्टरमा नरहेको खुलेको छ। चालकले ट्याक्टरको इन्जिन चालु अवस्थामै छोडेर पिसाब गर्न गएका थिए। सँगै यात्रु पनि पिसाव गर्न झरे। ट्याक्टरमा चढ्ने बेलामा एकजना यात्रुले गियर समातेर चढ्दा ट्रयाक्टर गुडेर दुर्घटना भएको बताइएको छ। त्यसपछि ट्याक्टर चालक समिर लिम्बूले देखेर जोगाउन खोज्दा उनी पनि घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर होम अधिकारीका अनुसार बाँधबिसौनाबाट स्थानीय डेगबहादुर अधिकारीको शव बोकेर दाहसंस्कारका लागि तमोर नदीको त्रिवेणी जानेक्रममा को १ त ९७३७ नंबरको ट्याक्टर दुर्घटनामा परेको हो।

ट्याक्टर सडकबाट करिब एक सय मीटर तल खसेको जनाइएको छ। तीन वटा ट्याक्टरमा मलामी सवार मध्ये एउटा ट्याक्टर दुर्घटनामा परेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट