सगरमाथा बारे भ्रम फैलाएको आरोपमा विवादित आरोही निर्मल पुर्जा पर्यटन विभागको छानविनमा

काठमाडौं– वसन्त ऋतुमा जारी सगरमाथा आरोहणलाई प्रभावित वनाउने गरी विश्वको सर्वोच्च शिखर सगरमाथाका विषयमा भ्रम फैलाएको आरोपमा विवादित पर्वतारोही निर्मल पुर्जा पर्यटन विभागको छानविनमा परेका छन्।

ब्रिटिस सेनामा काम गरिसकेका आरोही पुर्जाले हिमाल आरोहणमा झण्डै ४० वटा विश्व रेकर्ड बनाएका छन्। आइतबार उनले इन्स्टाग्राममार्फत सगरमाथा आरोहणका क्रममा आफू उक्लिदै गर्दा ८ हजार मिटर उचाईमा पर्ने बाल्कोनी र साउथ समिटको बीच भागमा आरोहीको सहायताका लागि टाँगिएको डोरी काटिएको भिडियो सार्वजनिक गरेका थिए।

उनले इन्स्टाग्राममा हिमाल आरोहणका क्रममा मृत्यु भएकाहरुको शव लिन जाँदै गरेको पिक प्रमोसन प्रालिको टोली फर्किनु परेको भिडियो राखेका थिए। पर्यटन विभागले सोमबार नै त्यसको खण्डन गरेको छ। विभागले जारी गरेको विज्ञप्तिमा पुर्जाले पिक प्रमोसनका शव व्यवस्थापन टोली डोरी नभएको कारणले फर्किनु परेको भन्ने आरोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। उक्त स्थानमा त्यस्तो केही पनि नभएको विभागले जनाएको छ।

पुर्जाको आरोपपछि पनि पायोनियर एडभेन्चर प्रालिको टोलीले सोमबार विहान १२ः४५ मा सगरमाथाको सफल आरोहण गरेको र पुर्जाले भने जस्तो कुनै समस्या नरहेको विज्ञप्तिमा उल्लेख छ। भ्रामक सूचना फैल्याएको भन्दै पुर्जा र उनको टीममाथि छानबिन सुरु गरिएको पनि विभागले जानकारी दिएको छ।

पटक पटक विवादमा
तिब्बतियन मुलका बेलायती नागरिक पुर्जा यस अगाडि पनि नेपालमा पटक पटक विवादमा आइसकेका छन्। कपनमा रहेको उनको कम्पनीको कार्यालयमा भएको विस्फोटमा २ जना कामदारको ज्यान गएको र घरधनीले क्षतिपूर्ति नपाएको विषय अदालतमा पुगेको थियो।

पुर्जाले नेपाली नागरिक्ता र राहदानी समेत राखेका थिए। उनले आफूलाई नेपाली मूलको बेलायती नागरिक दाबी गर्ने गरेका थिए। उनले सन् २०१२ जुन २८ मा बेलायती पासपोर्ट बनाएका थिए। सो पासपोर्टमा उनको राष्ट्रियता बेलायत उल्लेख छ।

सन् २०२२ सम्म म्याद रहेको सोही राहदानी प्रयोग गरेर उनी पटक–पटक भिजिट भिसामा नेपाल आउने गरेको अध्यागमन विभागको रेकर्डमा उल्लेख छ। बेलायतको पासपोर्टमा उनको जन्मस्थान म्याग्दी उल्लेख छ। बेलायती राहदानी हुँदाहुँदै सन् २०१६ मार्च १५ मा उनले नेपाली नागरिकको रूपमा नेपाली पासपोर्ट समेत निकालेका थिए।

म्याग्दी जन्मस्थान र त्यहीको नागरिकताका आधारमा पासपोर्ट निकालेका हुन्। पुर्जा अहिले पनि बेलायती नागरिक नै हुन्। उनले नेपाली पासपोर्ट लिएको एक वर्ष पछि दोस्रो पटक बेलायतको पासपोर्ट लिएको देखिन्छ।

७ महिनाभित्र १४ वटा हिमाल आरोहण
निर्मल पुर्जा हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन्। उनले ७ महिनाभन्दा कम अवधि (१८९ दिन)मा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।

उनी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा सन् १९८३ मा जन्मिएको देखिन्छ। ब्रिटिस सेनामा १६ वर्ष काम गरेका उनले १० वर्ष युके स्पेसल फोर्सेस (यूकेएसएफ)मा बिताए। ‘बियोण्ड पोसिबल’ पुस्तकका अनुसार सन् २०१२ डिसेम्बरबाट हिमाल चढ्न सुरु गरेका हुन्। उनी सगरमाथा आधार शिविर पुगेपछि हिमाल चढ्ने सोख पलाएको उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट