परिवारलाई धम्की र चेतावनीपूर्ण चिठी लेखेर सम्पर्कविहिन भएका झापाका २ बालक पथरीमा भेटिए
दमक– भनिन्छ, बालबालिका माटोको डल्ला हुन। कुमालेले जसरी माटोलाई आफनो इच्छा अनुसार जुनसुकै आकारका भाँडामा परिवर्तन गर्न सक्छन्। त्यसैगरी, बालबालिकालाई कस्तो बनाउने भन्ने विषय उनिहरुको पारिवारिक बातावरणले निर्धारण गर्छ। अनि समाज र साथीसंगतीको प्रभाव पनि उनीहरुमा देखिन्छ।
तर, कतिपय बालबालिका भिन्नै स्वभावका हुन्छन्। जोखिम उठाउन रुचाउने यस्ता बालबालिकाले कहिलेकाही यस्तो कदम चाल्छन्, जसले गर्दा अभिभावक, परिवार र सिंगो समाजले त्यसको असर भोग्नु पर्छ।
मंगलबार झापामा यस्तै एउटा घट्ना सार्वजनिक भयो। गौरादह–१ बेलडाँगी निवासी भूपेन खड्काका दुई भाई नाबालक छोरा घर छोडेर हिँडे। १४ वर्षीय खगेन्द्र खड्का र उनका भाई देव खड्का आफ्ना बुवालाई चिठी लेखेरै विहान १० बजेदेखि सम्पर्क विहिन भए।
उनीहरुले छोडेको चिठीमा लेखिएको छ–‘डेडी अव हामी गको, अव हामीलाई नखोज्नु, हामी जहाँ गएपछि खुसी हुनेछौं। हामी तपाईकै यादवमा वस्नेछौं डेडी, हामी गौरिगन्जतिर गएका छौं। हामी ममी र दिदीलाई पनि सम्झिने छौं। हामी ठुलो भएपछि आउने छौं। अव हामी गयौं डेडी। हामीलाई नखोज्नु है, हामी खुसी रहनेछौं। डेडी तपाईले हामीलाई जति खोज्नु हुन्छ हामी त्यति नै भाग्छुम। तै भएर हामीलाई नखोज्नु। वाई डेडी।’
स्थानीय मोति माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत दुवै बालक सम्पर्क विहिन भएपछि बाबुआमाको रुवावासी भयो। प्रहरीको सहयोगमा खोजतलास सुरु भयो। खोजतलासका क्रममा उनीहरु मोरङको पथरीस्थित एउटा घरमा फेला परेका छन्। दुवै बालकलाई बुधबार बिहान २ बजे परिवारले जिम्मा लिएका छन्।


