उड्नका लागि धावनमार्गमा गुडिरहेको विमानको इन्जिनमा फसेर एक जनाको मृत्यु

काठमाडौं– नेदरल्याण्ड्सको आम्स्टर्डमस्थित शिफोल विमानस्थलबाट डेनमार्कको बिलन्डतर्फ जान धावनमार्गमा गुडिरहेको विमानको इन्जिनमा फसेर एक जनाको मृत्यु भएको छ।
प्रस्थानको तयारीमा रहेको केएल १३४१ विमान डेनमार्कको बिलन्डतर्फ जान लागेको बेला विमानको इन्जिनमा फसेका ती व्यक्तिको मृत्यु भएको हो। घटनाबारे केएलएमले छानबिन गरिरहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
नेदरल्यान्डको सैन्य प्रहरीले पनि यस मामिलामा छानबिन सुरु गरेको छ। मृतकको अहिलेसम्म पहिचान खुलाइएको छैन। स्थानीय मिडियाका अनुसार मृतक विमानस्थलका कर्मचारी हुन सक्छन्।
विमान छोटो दूरीको एम्ब्रेयर जेट थियो। केएलएमले लन्डन र नजिकैका अन्य गन्तव्यहरूमा यो विमान उडान गर्दै आएको छ। शिफोल यूरोपको सबैभन्दा व्यस्त विमानस्थल हो र विमानस्थलमा कडा सुरक्षा व्यवस्था छ।
गएको वर्ष पनि डेल्टाको यात्रुवाहक विमानको इञ्जिनमा परेर विमानस्थलका एक जना २७ वर्षीय कर्मचारीको मृत्यु भएको थियो।