अमेरिकाले आस देखाएर सन्दीपलाई भिसा दिएन, तेस्रो आवेदन पनि रिजेक्ट

काठमाडौ– अमेरिकी दुतावासले क्रिकेटर सन्दीप लामिछानेको भिसा तेस्रो पटक पनि रिजेक्ट गरेको छ। काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएर भिसा दिने आस देखाएपनि अन्तिम समयमा भिसा दिन नमानेको हो।
टी–२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन यस अघि दुई पटक रिजेक्ट भईसकेको छ। अमेरिकी दूतावासले भिसा दिन आनाकानी गर्दा उनी विश्वकप खेल्न जान पाइरहेका छैनन्। सरकारले लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउनका लागि भिसा दिन दूतावासलाई नोट लेखिसकेको छ।
त्यस्तै, उनलाई भिसा दिन माग गर्दै बिहीवार मात्रै माइतीघरमा समर्थकहरूले प्रदर्शन गरेका थिए। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो।
यसअघि सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले सुरुमा भिसा दिएको थिएन। फेरि सामाजिक सञ्जालमा आलोचना भएपछि बोलाएर भिसा दिएको थियो।
टी–२० विश्वकप क्रिकेटका लागि अन्य नेपाली खेलाडी अमेरिका छन्। यति मात्र होईन, क्यानका पदाधिकारीहरु श्रीमतीसहित मंगलबार नै अमेरिका गईसकेका छन्। तर, नेपाललाई विश्वकपसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका लामिछाने भने नेपालमै रोकिएका छन्।
नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ।