ओलीलाई बालेन्द्रको चेतावनीः समयमै गिरिबन्धुका पीडितको बैना फिर्ता गर्नुहोला, नत्र…

काठमाण्डौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापाको गिरीबन्ध टि–स्टेट प्रकरण नलुकाउन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।
मेयर साहले टि–स्टेटको १० हजार करोडको सरकारी जग्गा घोटला प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै ओलीलाई यस्तो चेतावनी दिएका हुन्।
‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू। झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ’ उनले फेसवुकमा लेखेका छन्–‘गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन। यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ।’
उनले, अब बल्ल देश बन्ने भएछ भन्दै आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो भएको टिप्पणी गरेका छन्। ‘तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल–चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।’ उनले लेखेका छन्–‘अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो। धन्यवाद।’