क्यान अध्यक्ष चतुरबहादुर नेपाली क्रिकेट टिमको डाक्टर बनेर अमेरिका गएको खुलासा

काठमाडौं– संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० क्रिकेट प्रतियोगितामा भएका खेलाडीलाई समेत सहभागि गराउन नसक्दा नेपालको प्रदर्शन सन्तोषजनक छैन। क्रिकेटर सन्दीप लामिछानेलाई षडयन्त्र रोकिएका भन्दै आलोचना भईरहेको छ।
ठिक यसैवेला नेपाली क्रिकेट टोली डाक्टर र टिम सेक्युरिटी म्यानेजर बिनै अमेरिका पुगेको खुलासा भएको छ। टिमको डाक्टरका रुपमा नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द अमेरिका पुगेका छन्।
टी–२० विश्वकपका लागि २५ सदस्यीय टोलीमा अध्यक्ष चन्दसमेत अटाएको स्रोतले जनाएको छ। क्यान उपाध्यक्ष रोशन सिंहले पनि चन्द नेपाली क्रिकेट टोलीको मेडिकल सम्हालेर टोलीसँगै अमेरिका पुगेको जानकारी दिए। योसँगै नेपाली टिमभित्र रहेर प्रतियोगिता हेर्न जाने चन्द क्यानका पहिलो अध्यक्ष हुन्। उनी पत्नीसहित खेल हेर्न गएका छन्।
नेपाली टिमको अफिसियल टोलीमा चन्द बाहेक प्रशिक्षक मोन्टी देसाई, बलिङ प्रशिक्षकमा रोडेरिक ओर्भिल इस्टविक, रमन सिवाकोटी (एनालिस्ट), विक्रम न्यौपाने (फिजियो), अब्दुल सतार (ट्रेनर), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन हनमन्त फाडनिस (कन्सलटेन्ट प्रशिक्षक) अमेरिका गएका छन्।