भुकम्प पीडितको त्रिपाल घोटालामा मुछिएका पूर्वसचिवलाई योजना आयोगको सदस्य पद उपहार

काठमाण्डौं– भुकम्प पीडितको त्रिपालमा भ्रष्टाचार गरेको काण्डमा मुछिएका पूर्वशहरी विकास सचिव डा. रमेशप्रसाद सिंह राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन्। अशोक राई नेतृत्वको जसपाको कोटाबाट सिंहलाई सदस्यमा नियुक्त गरिएको हो।
मन्त्रिपरिषद बैठकको गत २४ जेठको निर्णयले सिंह योजना आयोगको सदस्यमा नियुक्त भएका हुन्। जसपा नेपाल सरकारबाट बाहिरिएपछि सोही पार्टीको कोटाबाट सदस्य बनेका उमाशंकर प्रसादले राजीनामा दिएका थिए। उक्त पदमा सिंहलाई भर्ना गरिएको हो।
डा. सिंह २०७२ को भूकम्पताका त्रिपाल खरिदको भुक्तानी प्रकरणमा मुछिएका थिए। शहरी विकास मन्त्रालयले माता इन्टरप्राइजेज, ए.एस. इन्टरप्राइजेज, दीपकिरण प्रिन्टिङ एन्ड ट्रेडर्स र अजय शुभ ट्रेडर्समार्फत त्रिपाल खरिद गरेको थियो। त्रिपाल आपूर्तिका क्रममा भ्रष्टाचार भएको भनेर त्यस वेला ब्यापक विरोध भयो। जसका कारण भुक्तानी प्रक्रिया रोकियो।
उक्त प्रकरण विशेष अदालत हुँदै उच्च अदालत पुग्यो। उच्च अदालत पाटनले तीन महिनाभित्र रकम भुक्तानी गर्न आदेश दिँदै त्यसो नगरे ५ सय रुपैयाँ जरिवाना हुने जनायो। त्यो आदेशविरुद्ध सिंह सर्वोच्च अदालत गए। सर्वोच्चमा सो मुद्दा विचाराधीन छ।