सिराहामा किराना पसलमै लागुऔषध बिक्री, एक महिला पक्राउ
लहान– किराना पसलमा लागु औषध राखेर विक्रि वितरण गर्ने एक महिलालाई सिराहा प्रहरीले पक्राउ गरेको छ।
धनगढीमाई नगरपालिका– १, बाखरमा घरमै किराना पसल सञ्चालन गर्नै आएकी ३५ वर्षीया विनादेवी यादवलाई प्रहरीले पक्राउ गरेको हो।
किराना पसल र घरको खानतलासीको क्रममा १०/१० थान प्रोमोथोजिन हाइड्रोक्लोराइड, डाइजिपाम र इप्पल इन्जेक्सन बरामद भएको सिराहा प्रहरीका डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए।
पसलबाट नाइट्राभेट १० लेखिएको ३२५ थान ट्याब्लेट, ३० थान सुई, ६ थान मोबाइल र नेपाली र भारतीय मुद्रा गरी ७ हजार ९० रुपैयाँ बरामद भएको छ। पक्राउ परेकी यादवलाई धनगढी प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी सापकोटाले जानकारी दिए।
प्रतिक्रिया