ओलीलाई प्रधानमन्त्री बन्न नदिन राष्ट्रपतिको चलखेलः धारा ७६(३) मा जान देउवालाई पठाए खबर

काठमाडौं– पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति कार्यान्वयन हुन नदिन राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल सुरु गरेको खुलेको छ।

नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नगरी संसद् ‘फेस गर्ने’ बताएपछि राष्ट्रपति पौडेलले चलखेल सुरु गरेको स्रोतको दावी छ। पौडेल संविधानको धारा ७६(३) अनुसारको प्रकृया सुरु गरेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारीमा लागेका छन्।

संविधानको धारा ७६ (२) को प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत नपाए उपधारा ३ मा जाने संवैधानिक प्रावधान छ। जस अनुसार प्रतिनिधि सभाको सवैभन्दा ठुलो दलको हैसियतमा कांग्रेसले सरकार वनाउने पहिलो अवसर पाउँछ।

प्रधानमन्त्रीले राजीनामा गरेमा उपधारा २ अनुसार नै सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्न सक्छन्। दाहालले विश्वासको मत नपाएको अवस्थामा पनि राष्ट्रपतिले उपधारा २ अनुसार नै सरकार गठनका लागि आह्वान गर्न सक्छन्।

जानकारी अनुसार कांग्रेस र एमालेको नयाँ गठवन्धन बनेपछि १८ असारमा प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएका थिए। त्यहाँ पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

एमालेसँगको गठबन्धन तोडेर आफूले राष्ट्रपति बनाउन भूमिका खेलेको भन्दै दाहालले सत्ता जोगाइदिन पौडेलसँग आग्रह गरेको नेताहरू बताउँछन्। एमालेले समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिनुपर्ने अवस्थामा कांग्रेसको समर्थन जुटाइदिन पनि दाहालले पौडेललाई आग्रह गरेको वुझिएको छ।

त्यो सम्भव नभए संविधानको धारा ७६ (३)मा लैजान र ओलीलाई कुनै सर्तमा प्रधानमन्त्री बन्न नदिन दाहालले पौडेललाई पाठ पढाएर फर्किएको स्रोतहरूको भनाइ छ। सोहीअनुसार पौडेलले ओली नभएर कांग्रेसले नै सरकारको नेतृत्व लिनुपर्छ भन्ने गरी कांग्रेस सभापति देउवालाई सन्देश पठाएका थिए।

तर, राष्ट्रपति पौडेलले धारा ७६ (३) मा लैजान खोजे पनि कांग्रेस सभापति शेरबहादुर देउवा भने एमालेसँग गरेको सहमतिमा कायम छन्। उनले पहिलो कार्यकाल ओलीलाई प्रधानमन्त्री बनाउने बताई सकेका छन्। यो विषय उनले पार्टीमा निर्णय समेत गराएका छन्।

त्यसैले देउवाले राष्ट्रपति पौडेललाई फोन गरी आफनो मर्यादा बिर्सेर कुनै कदम नचाल्न सचेत गराई सकेको स्रोतको दावी छ। ‘सहमतिअनुसार ओली नै प्रधानमन्त्री हो, कांग्रेसले औपचारिक निर्णय गरिसकेको छ,’ देउवाले भनेको कुरा स्रोतले सुनायो।

एमालेको नेतृत्वमा सरकार गठन गर्ने गरी असार १७ गते सहमति भएको थियो। त्यसपछि कांग्रेस र एमालेले मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरिसकेका छन्। तर, दाहाल राजिनामा गर्न तयार छैनन्। उनले राजिनामा गर्न पुगेका रास्वपाका मन्त्रीलाई समेत फिर्ता पठाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट