८० लाख खर्च गरेर चोर बाटो हुँदै डेढ वर्षमा अमेरिका पुगेका दीपकको गोली हानी हत्या

काठमाण्डौं– ८० लाख खर्च गरेर चोर बाटो हुँदै डेढ वर्षमा अमेरिका पुगेका रूकुमको बाँफिकोट गाउँपालिका–१०, सेचेका ३० वर्षीय दीपक वली आईतबार विहानै लुटेरा समूहको गोली प्रहारबाट मारिए। उनको मृत्युसँगै परिवारको विल्लीबाठ भएको छ।
टेक्सासको ग्यास स्टेसनमा काम गर्ने वली बन्धुकधारी लुटेराको गोली प्रहारबाट काम गर्ने ठाउँमै मारिएका हुन। टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्यास स्टेसनमा काम गरिरहेका वलीलाई वन्दुकधारी समुहले गोली हानेको थियो। उनको घटनास्थलमै मृत्यु भएको जनाईएको छ।
बाँफिकोट–१० का अध्यक्ष हरिबहादुर चन्दका अनुसार दीपक एक वर्षअघि (सन २०२३ जुलाई) मात्र अमेरिका पुगेका हुन। अमेरिका पठाउने गिरोहको सम्पर्कमा पुगेका दीपक घरबाट भने ०७९ मंसिरमा हिडेको चन्दले जानकारी दिए। गैरकानुनी बाटो प्रयोग गर्दा दीपकले झन्डै डेढ वर्ष बाटामै बिताएको उनको भनाई छ।
दीपक ८० लाखभन्दा बढी रुपैयाँ खर्च गरेर अमेरिका गएको उनका माइला बुवा ४० वर्षीय खिमबहादुर वलीले बताए। परिवारको थाप्लामा अहिले दीपकलाई अमेरिका पठाउँदा लागेको ऋणको बोझ छ। उनी जाँदा लागेको ८० लाख ऋणमध्ये आधा मात्रै तिरी सकेको खिमबहादुरको भनाई छ।
उनका अनुसार दीपककी २६ वर्षीया श्रीमती बिमला बुढाथोकी वली ५ वर्षीया छोरी पढाउन दाङको तुलसीपुरमा बसेकी छिन्। बुबा ५६ वर्षीय बुवा लिलाराम वली रूकुम पश्चिममा बाख्रा पालन गर्दै आएका छन्। लिलारामका २ वटी श्रीमती मध्ये दीपक जेठी पटीका एक्ला छोरा हुन। दीपकको जन्म भएपछि उनकी आमाको मृत्यु भएको थियो।
त्यसपछि लिलारामले उनकै ४१ वर्षीया बहिनी प्रतिभालाई दोस्रो श्रीमतीको रूपमा विवाह गरेका थिए। उनीतर्फ दुई छोरा छन्। जेठा दिनेश वली कोरियामा छन् भने १८ वर्षीय उनका भाई जनक अध्ययनको सिलसिलामा काठमाडौंमा रहेको खिमबहादुरले वताए।