बागलुङमा पहिरोमा परेर ८ जनाको मृत्यु, ४ जना घाईते

काठमाण्डौं– बागलुङमा पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–१० दर्लिममा ६ जना र वडा नम्बर ९ को बलघाँसमा २ जनाको मृत्यु भएको हो।
सीडीओ नेत्रप्रसाद सुवेदीका अनुसार बडीगाड गाउँपालिका १० मा घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, १३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो।
बिहान १० बजे खसेको पहिरोले छिमेकी समेत आएको बेला बुढाको घर पुरिएको थियो। घटनामा अझै कति बेपत्ता छन् भन्ने खुलेको छैन। उक्त घटनामा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा बिक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिं बुढा गम्भीर घाइते छन्।
उनीहरूलाई उपचारका लागि प्राथमिक स्थ्यकेन्द्र बुर्तिवाङ पठाउने तयारी भएको सहायक सीडीओ चित्राङ्गत बरालले जानकारी दिए।
वडा नम्बर–९, बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको छ। घर पछाडि आएको पहिरो पन्साउन गएका परियारलाई पहिरोले पुरेको हा । पहिरो पन्साउने क्रममा उनको घटनास्थलमै मृत्यु भएको थियो भने बस्नेतको पहिरोमा पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा उद्धार टोली पुगेर घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ।