हङकङमा नेपाली कामदार महिलामाथि बलात्कार, अदालतद्वारा स्विडिस व्यापारी दोषी ठहर

काठमाण्डौं– हङकङमा कामदार नेपाली महिलालाई बलात्कार गरेको आरोप लागेका स्विडिस व्यापारी ३५ वर्षीय पाट्रिक टोबियस एक्स्ट्रोमलाई त्यहाँको उच्च अदालतले दोषी ठहर गरेको छ। सन २०२२ मा भएको यो घट्नामा अदालतले बिहीबार फैसला गरेको हो।

हङकङको कानुनले बलात्कारको अपराधमा आजीवन कारावाससम्मको सजाय निर्धारण गरेको छ। यो मुद्दाको फैसलाका लागि सात सदस्यीय जुरी बसेको थियो। जुरीले सर्वसम्मतीले एक्स्ट्रोमलाई दोषी ठहर गरेको जनाईएको छ।

पीडित महिलाका अनुसार यो घट्ना २७ अक्टोबर २०२२ को राति शेकओस्थित घरमा भएको हो। त्यस दिन एक्स्ट्रोमकी श्रीमती तीन छोराछोरी सहित जापान गएकी थिइन्। एक्स्ट्रोम रक्सीले मातेर घर फर्किएका थिए। मंगलबार भएको सुनुवाईका क्रममा उनले आफुलाई सिँढीबाटै तानेर आफ्नो मास्टर बेडरुममा पुर्याई बलात्कार गरेको महिलाले वयान दिएकी थिईन।

तर, एक्स्ट्रोमले भने महिलाको भनाईको प्रतिवाद गर्दै सहमतिमै यौन सम्वन्ध बनाएको वताएका थिए। आफूहरूबीच पहिलैदेखि नै घनिष्ट सम्बन्ध रहेको, सम्वन्धका लागि महिलाले नै सुरुवात गरेको र उक्त रातको यौन सम्बन्ध पनि सहमतिमा भएको उनको भनाई थियो।

उनले महिलालाई आर्थिक समस्या भएपछि आफुले जुलाई २०२२ मा चार महिनाको अग्रिम तलब दिएको तथा घट्ना भएको भनिएको दिन पनि महिलासँग आफुले २ पटक सहमतिमै यौन सम्वन्ध राखेको र त्यसक्रममा उनले आफुसँग ४५ हजार हङकङ डर ऋण तिर्न सहयोग मागेको वयान दिएका थिए।

तर, पीडित महिलाले त्यसको प्रतिवाद गरिन। उनले आफूले कहिल्यै ऋण तिर्न मद्दत नमागेको अदालतलाई बताएकी थिईन। उसले आफ्नो काँधमा बलियोसँग समातेकोले प्रतिकार गर्न पनि नसकेको उनको भनाई थियो।

प्रतिकार गर्न नसक्नुको मतलब आफू यौनकार्यको लागि सहमत भएको भन्न नमिल्ने भन्दै उनले प्राकृतिक तथा अप्राकृतिक मैथुन गरेको र ज्यान मार्नेसम्मको धम्की दिएको पनि बताएकी थिईन। त्यसपछि विहिबारको जुरीले एक्स्ट्रोमको बयानलाई अस्वीकार गर्दै बलात्कारको कसुरमा दोषी ठहर गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट