आँबुखैरेनी दुर्घटनामा आमाबुवा गुमाएका २२ वर्षीय युवक अझै बेपत्ता रहेको खुलासा

काठमाण्डौं– २७ जनाको ज्यान जाने गरी ७ भदौमा तनहुँको आँबुखैरेनीमा भएको दुर्घटनामा अझै एक जना बेपत्ता रहेको खुलेको छ।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा भएकोे दुर्घटनामा २२ वर्षीय गोकर्णी सन्दीप सरोदे बेपत्ता रहेको खुलेको हो। दुर्घटनामा परेको बससँगै आएको अर्को बसका आफन्त र घाइतेहरूले दिएको विवरण अनुसार सरोदेको बारेमा जानकारी भएको हो।

यसबारे शनिबार दिउँसो मात्रै खबर पाएपछि प्रहरीले गोताखोरको टिम परिचालन गरेर खोजी सुरु गरेको छ। तर उनको अवस्था खुलिसकेको छैन। जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी बिरेन्द्रबहादुर शाहीका अनुसार बेपत्ता भएका सरोदेका बुवाआमा पनि सोही बसमा थिए। दुर्घटनामा परेर उनीहरुको निधन भएको पाइएको छ।

भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाले ज्यान गुमाएका थिए। मृतकहरूको पोस्टमार्टमपछि सनाखत गरेर भारतीय वायु सेनाको विमानमार्फत पठाइसकिएको छ।

बाँकी १६ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइतेलाई भेट्न शनिबार दिउँसो भारत सरकारकी राज्यमन्त्री युवा मामिला तथा खेलकुद राजयमन्त्री रक्षा निखिला खड्से काठमाडौँ आएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट