मोटरसाईकलको ठक्करले लडेको स्कुटरलाई बसले च्याप्यो, चालकको मृत्यु
काठमाण्डौं– काठमाण्डौंको कलंकीमा मोटरसाईकलले ठक्कर दिँदा अनियन्त्रित भएर सडकमा लडेको स्कुटरलाई बसले चेप्दा चालकको मृत्यु भएको छ।
शनिबार बिहान सवा १० बजे बा ९५ प ७६३५ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकमा लडेपछि पछाडिबाट आएको बसले चेप्दा स्कुटर चालक पाल्पा घर भई काठमाण्डौं बस्दै आएका विष्णु बहादुर मगरको मृत्यु भएको हो।
कलंकीस्थित मकालु पेट्रोल पम्पनजिक भएको यो दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालक मगरलाई उपचारका लागि कलंकीकै नेशनल अस्पताल लगिएकोमा बिहान साढे १० बजे मृत्यु भएको हो।
प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको ठक्कर दिएपछि स्कुटर अनियन्त्रित भएर सडकमा लडेको र पछाडिबाट बसले किचेको जस्तो देखिएको जिल्ला प्रहरी परिसर काठमाण्डौंका एसपी नवराज अधिकारीले बताए।
प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ। चालक भने फरार छन्। प्रमाणीत भइनसकेका कारण प्रहरीले ठक्कर दिएको भनिएको मोटरसाइकल र बसको नम्बर सार्वजनिक गरेको छैन।