७ घण्टापछि झिकियो भोटेकोसीमा खसेको बोलेरो, चालक र एक महिला बेपत्ता

काठमाण्डौं — सिन्धुपाल्चोकको बाह्रबिसे –तातोपानी सडक खण्डको छ्याक्सा नजिकै भोटेकोसी नदीमा खसेको बोलेरो ७ घण्टाको प्रयासपछि निकालिएको छ। बा २० च २१८५ नं. को बोलेरो क्षतिग्रस्त अवस्थामा निकालिएपनि चालकसहित २ जना वेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका अनुसार बोलेरोका चालक भोटेकोशी गाउँपालिका–५ का ३८ वर्षीय सानु शेर्पा र बोलेरोमा सवार बाहृबिसे नगरपालिका–९ की ३५ वर्षीया सुन्तली तामाङ वेपत्ता छन्।
आफन्तले दिएको जानकारी अनुसार गाडीमा दुई जना मात्रै रहेको खुलेको छ। डीएसपी निरञ्जन भट्टराईका अनुसार शुक्रबार बिहान बाह्रबिसे नगरपालिका– ६ बोर्डरल्याण्ड ढुङ्गाखानी छ्याक्साभन्दा करिव १ सय मिटर तल सर्वसाधारणले गाडीको टायर देखिएपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय बाह्रबिसेको सशस्त्र प्रहरी र स्थानीयबासी उद्धारमा खटिएका थिए। मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट मगाइएको क्रेनबाटको सहयोगले साँझपख बोलेरो नदीबाट निकालिएको छ। बोलेरो बिहीबार बेलुकानै सडकबाट नदीमा खसेर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ।