धनुषामा थुनुवा फरार प्रकरणः हिरासतको भेन्टिलेसन काट्न कस्ले दियो ‘ह्याक्सो ब्लेड’, कहाँ थिए सुरक्षाकर्मी ?
जनकपुर –जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका ८ जना थुनुवा अझै फेला परेका छैनन। उनीहरु हिरासत कक्षको ‘भेन्टिलेसन’ को रड काटेर फरार भएको पाईएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको डीएसपी रञ्जन अवालेका अनुसार हिरासत कक्षमा जम्मा १० जना थुनुवा थिए। ती मध्य आज विहान करिव ४ बजे ९ जना थुनुवा फरार भए। फरार मध्ये १ जनालाई प्रहरीले जनकपुरको जनक चौकबाट पक्राउ गरेको छ।
फरार सबै थुनुवा लागुऔषध, चोरी र अभद्र ब्यवहार मुद्दाका अभियुक्त हुन। फरार हुनेमा जनकपुर–२० रुपैठाका अमितकुमार झा, धनुषा गिद्धा–५ का रंजित मण्डल र रोशनकुमार मण्डल, सिरहा–१३ का भास्करकुमार यादव, धनुषा देउरी परवाहा–४ का विशाल मुखिया, नगराईन–२ का मनिष मण्डल र जनकपुर–४ का बिक्की कार्की छन्।
अमितकुमार, रञ्जित, रोशन, भास्कर, विशाल लागुऔषध मुद्दाका थुनुवा हुन् भने मनिष र विक्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन्। उनीहरुसँग १ जना अभद्र व्यवहारमा पक्राउ परेका नाबालकसमेत फरार भएको जनाईएको छ।
थुनुवाले रड काट्न प्रयोग हुने ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेसन काटेर फरार भएको पाईएको छ। ह्याक्सो ब्लेड उनीहरूको पहुँचमा कसरी पुग्यो र ह्याक्सोले भेन्टिलेसन काटुन्जेलसम्म सुरक्षाकर्मीले कसरी थाहा पाएनन् भन्नेबारेमा अनुसन्धान भइरहेको अवालेले बताए।
प्रहरी कार्यालय धनुषामा हाल अत्याधुनिक हिरासत कक्ष छ। जसको पश्चिमपट्टिको भेन्टिलेसन फोरेर थुनुवाहरू फरार भएका हुन्। हिरासत कक्षको भुईंतलामा थुनुवाको सामूहिक कक्ष छ भने माथिल्लो तला महिला थुनुवा राखिन्छ। तल्लो र माथिल्लो दुवै तलामा सेन्ट्री बसे पनि एकैपटक ९ जना थुनुवा फरार भएका हुन्।