८ जनाको परिवारै पहिरोमा गुमाएर एक्लै बाँचेका माईला तामाङको उद्धार, अस्पताल भर्ना गरियो

काठमाडौँ– परिवारका ८ जना सदस्य गुमाएका काभ्रेको तेमाल गाउँपालिका–२ का माइला तामाङको उद्धार गरिएको छ। गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परेर उनले श्रीमती, आमावुवा र भाईको पनि परिवारै गुमाएका छन्।
एक्लै बाँचेर अलपत्र अवस्थामा रहेका माइला तामाङको शनिबार साँझको अविरल वर्षा र पहिरोका कारण उद्धार हुन सकेको थिएन। उनको आइतबार दिउँसो ४ बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
जस्ताले थिचेको अवस्थामा गाउँलेद्वारा उद्धार गरिएका माईलाको टाउको र खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना गरिएको वडाध्यक्ष देवराज तामाङले बताए। माइलाको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गइरहेको उनले भनाई छ।
घरसहित परिवारका ८ जनालाई नै पहिरोले बगाउँदा माइलालाई भने जस्ताले थिचेको अवस्थामा गाउँलेले निकालेका थिए। तर अस्पतालतर्फ लैजाँदै गर्दा वर्षा र जताततैबाट पहिरो जान थालेपछि उनीहरू पनि छाडेर फर्किएका थिए।
माइला तामाङका बुबा, आमा, श्रीमती, भाइ, बुहारी र भाइका ३ जना छोरीछोरी पहिरोले बगाएको थियो। उनीहरुसँगै बाढी पहिरोका कारण काभ्रेपलाञ्चोकमा ३१ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिनेशबहादुर कुँवरका अनुसार ४२ जना घाइते भएका छन्।
उनका अनुसार घाइतेभएकाहरूको धुलिखेल र स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले अहिलेसम्म अलपत्र परेका ९४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेको छ।