पहिरोमा परी आमाको मृत्यु भएपछि कोरामा बसे ५ वर्षीय छोरा, २ दिनमा किरियाकर्म सकिने

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– १, भञ्ज्याङ (सिलिङ्गे)की ३१ वर्षीया सविता सापकोटाको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु भएपछि उनका ५ वर्षीय छोरा किरियाकर्ममा बसेका छन्। सविताका पतिको घरथर (पहिचान) नखुलेपछि उनका नाबालक छोरालाई किरियाकर्ममा राखिएको हो।

१२ असोजमा सुतेकै ठाउँमा रामप्रसाद सापकोटाकी ३१ वर्षीया जेठी छोरी सविता र रश्मिलालाई पहिरोले पुरेको थियो। भोलिपल्ट दुवैको शव भेटिएपछि दाहसंस्कार गरिएको थियो। सविताले विवाह गरेका श्रीमान्को कुनै टुङ्गा नलागेपछि नाबालकलाई काजकिरियामा राखिएको स्थानीय स्थानीयले बताएका छन्।

१० दिनबाट काजकिरिया सुरु गरेर १२ दिनमा सक्ने गरी धार्मिक प्रकृया सुरु गरिएको उनिहरुको भनाई छ। काजकिरिया उतार्न धार्मिक विधिविधानमा सहयोग गरिरहेका पुरोहित राममणि अधिकारीका अनुसार विवाह गरेपपछि महिलाको थर र गोत्र परिवर्तन हुने परम्परा छ। त्यसपछि बुबाले किरियाकर्म गर्न नमिल्ने भएकाले बाधाअड्काउ फुकाउन यो उपाय खोजिएको हो।

उनका अनुसार सविताका श्रीमान बालक जन्मिनु अघिदेखि नै सम्पर्कमा छैनन्। अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्–‘बाढी पहिरोमा परी धेरै जनधनको क्षति, दुःखद घटनामा मृत्यु भएकी आमाको आफ्नो संस्कारअनुसार ५ वर्षको बालक किरिया गर्दै। आफू जन्मेपछि बाबु अर्कै केटी लिएर हराए। आमाले माइतमा बसी ज्याला गर्दै पालेकी थिइन्।’

बच्चालाई सहारा नभएको भन्दै अधिकारीले शिक्षा, स्वास्थ्यका लागि सहयोग गरिदिन पनि अपिल गरेका छन्। स्थानीयका अनुसार रामप्रसादले पनौती १ मा भारी बोकेर ५/६ जनाको परिवार चलाउँदै आएका छन्।

फोटोः सामाजिक सञ्जाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट