पुण्य गौतममाथि रड प्रहार गर्ने दुर्गा प्रसाईका दुई जना कार्यकर्ता पक्राउ

काठमाडौँ– पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने काभ्रेको तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्ने ३० वर्षीय टासी लामा भन्ने संजिव तामाङ र रसुवा घर भई गोकर्णेश्वर नगरपालिका–४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदान छन्।
पक्राउ परेका दिलबहादुर गङदाङ घट्नाका मुख्य योजनाकार हुन्। उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म ,संस्कृति र नागरिक बचाऔँ महाअभियान’ अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक हुन्। प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँस्थित आफनै घर अगाडिको सडकमा २१ असोजको बेलुका ४६ वर्षीय गौतममाथि रड प्रहार भएको थियो। गौतमलाई घाइते बनाएर फरार रहेका दुई जना मध्ये संजिवलाई मंगलबार र दिलबहादुरलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट प्रहरीले एउटा रड र तीन वटा मोबाइल पनि बरामद गरेको छ। दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। गौतममाथि रड प्रहार गर्नुको कारण भने खुलिसकेको छैन।
यो पनि,