चौकी इन्चार्जसँग प्रेममा परेकी किशोरी १४ दिनदेखि वेपत्ता, पक्राउ हवल्दारले अझै मुख खोलेनन्

काठमाडौँ– बैतडीको पञ्चेश्वर गाउँपालिका स्थित महाकाली प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीसँग प्रेम सम्वन्धमा रहेकी डिम्मरकी साढे १७ वर्षीया किशोरी बेपत्ता प्रकरण थप रहस्यमय भएको छ। हराएको १४ दिन वितिसक्दा पनि उनको अत्तोपत्तो लागेको छैन।
२५ असोजको बिहान करिव ५ बजे पानी लिन चौकी नजिकै रहेको पँधेरामा गएकी किशोरी अवेरसम्म पनि घर फर्किएर आईनन्। त्यसपछि आत्तिएका परिवारका सदस्यले उनको खोजी सुरु गरे। खोजतलासका क्रममा उनले पानी भर्नका लागि लगेको ग्यालेन (जर्किन) र डोरी चौकी नजिकै भेटिएको थियो। त्यसपछि परिवारका सदस्यले खोजतलासको माग गर्दै चौकीमा निवेदन पनि दिए।
त्यसयता, आफन्तले लगातार किशोरीको खोजी गरिरहेका छन्। प्रहरीले इन्स्पेक्टर बलराम पाण्डेय नेतृत्वको टोली नै बनाएर किशोरीको खोजतलास गरिरहेको छ। अनुशन्धानका क्रममा किशोरीको सम्वन्ध चौकी इन्चार्ज जोशीसँग देखिएपछि उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएको छ। किशोरीको परिवारले जोशीविरुद्ध किटारी जाहेरी पनि दिएका छन्।
किशोरी र प्रहरी हबलदारबीच ‘प्रेम सम्बन्ध’ रहेको जोशीको मोवाईलबाट पनि पुष्टि भएको छ। मोबाइलमा दुवैले सँगै खिचाएका तस्बिर भेटिएका छन्। मोवाईलमा किशोरीसँगका अस्लिल फोटोसमेत भेटिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्।
स्थानीयका अनुसार २३ असोजको बेलुका जोशी र किशोरी करिब ४ घण्टा (साँझ ६ बजेदेखि राति १० बजेसम्म) सम्पर्कविहिन भएका थिए। यो विषय गाउँभरी हल्ला भयो। लगत्तै २५ असोजको विहानै किशोरी वेपत्ता भईन। सोही दिन दिउँसो किशोरीलाई ‘खोज्न जान्छु’ भन्दै एक्लै हिडेका हवल्दार जोशी पनि शिवनाथ गाउँपालिका–१, नागार्जुन घाटबाट भागेर महाकालीपारि भारत पुगे।
परिवारका सदस्य र स्थानीयको टोली नै उनको खोजी गर्दै भारत पुगे। भारतीय सुरक्षा बल (एसएसवी) सहितको सहयोगमा जोशी भारतको सुगरखाल भन्ने स्थानमा भेटिए। स्थानीयले उनलाई नियन्त्रणमा लिएर गाउँमा पुर्याए। दाम्लोले बाँधेर कुटपिट गरे र प्रहरीको जिम्मा लगाए।
जोशीलाई भारत भगाउनमा सहायक हवल्दार चन्द्र धामी र प्रहरी जवान बिरेन्द्र कार्कीको पनि हात रहेको गाउँलेको आरोप छ। दुवै जना मिलेर जोशीको झोला नागार्जुन घाटसम्म पुर्याएको उनीहरुले आरोप लगाएका छन्।
हवल्दार जोशीले भने किशोरीसँग चिनजान रहेको तर, उनी वेपत्ता भएको प्रकरण आफुलाई जानकारी नभएको वताएका छन्। ‘२५ गते बिहान हाम्रो भेट भएको थियो। उनले हाम्रो सम्वन्धका बारेमा परिवारले थाहा पाएको कुरा गरिन। मैले आफू विवाहित भएकाले परिवारको व्यवस्थापन गर्न केही दिन लाग्ने बताएपछि उनी पानी भर्न जान्छु भन्दै हिडेकी थिईन’ प्रहरीसँगको वयानमा जोशीले भनेका छन्–‘त्यसपछि उनीसँग मेरो भेट भएको छैन।’
जिल्ला प्रहरी कार्यालय वैतडीका अनुसार महाकाली प्रहरी चौकीमा सईको नेतृत्वमा ४ जना प्रहरी टोली खटाउने गरिएको थियो। त्यहाँ कार्यरत सईको फागुनमा सरुवा भएपछि हवल्दार जोशीलाई नै इन्चार्जको जिम्मेवारी दिईएको थियो।
उनी किशोरी बेपत्ता प्रकरणमा मुछिएपछि हाल महाकाली प्रहरी चौकीको टिम नै जिल्ला तानेर सई सुरतबहादुर साउँदको नेतृत्वमा नयाँ टोली पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर जनक ढुंगानाले बताएका छन्।