जग्गा विवादमा मारिएका युवकका हत्यारालाई प्रहरीले पक्राउ नगरेको विरोधमा आफन्तको प्रदर्शन

दमक– झापाको दमक नगरपालिका–९ का देशु भनिने यमु निरौला (३७) को हत्या प्रकरणका आरोपीलाई राजनीतिकका कारण प्रहरी पक्राउ नगरेको भन्दै शनिवार आफन्त र स्थानीयले प्रदर्शन गरेका छन्।
आक्रोशित स्थानीय र आफन्तले इलाका प्रहरी कार्यालयको गेट अगाडि टायर बालेर प्रर्दशन गरेका हुन्। प्रहरी कार्यालय अगाडि नै टायर बालेर प्रदर्शन गरेपछि दमकको अवस्था तनावपूर्ण बनेको थियो। हत्या भएको ५ दिन बितिसक्दा पनि हत्यारालाई पक्राउ नगरेको भन्दै आफन्तले शव पनि बुझ्न मानेका छैनन्। शव दमक अस्पतालमा राखिएको छ।
मृतकका परिवारले बुधबार दमक– ८ का बुद्धि थापा, नम चेम्जोङ, दमक– ३ का राजु भनिने शेरबहादुर नेम्वाङ, संखुवासभा मादी नगरपालिका– १० घर भई दमक– ३ बस्ने गणेश दर्जी, मोरङ उर्लाबारी– ६ का प्रकाश कार्की, उर्लाबारी– ७ का ध्रुव गौतम र सुनसरी इटहरीका डेबिड घलेविरुद्ध जाहेरी दिइएको थियो।
प्रहरीले आरोपित मध्ये २ जनालाई मंगलबार पक्राउ गरे पनि अन्य ब्यक्तिलार्य पक्राउ गरेको छैन। राजनीतिक दबाबका कारण कतिपयलाई प्रहरीले पक्राउ नगरेको स्थानीयको आरोप छ। उनीहरुका अनुसार किटानी जाहेरीमा परेकामध्ये बुद्धि थापा नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ हुन।
यता, प्रहरीले भने हत्या भएको स्थल दमक–३ मा पुगेका दुइवटा गाडीलाई नियन्त्रणमा लिइसकेको जनाएको छ। जाहेरी परेका बाहेक अन्य पनि केही ब्यक्तिको संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ।
निरौलाको मंगलबार दमक– ३ स्थित मावा खोलानजिक हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जग्गा विवादका कारण भेला भएकाहरुको बीचमा विवाद भएपछि उनीहरुको कुटाइबाट निरौलाको मृत्यु भएको हो।
त्यो जग्गा लामो समयदेखि विवादित थियो। विगतमा क्रसर राखिएको जग्गामा एउटा पक्षले खरिद गरेको भन्दै एक्स्काभेटर लगेर सम्याउन थालेपछि विवाद भएको स्थानीयले जनाएका छन।