भेट्न पुगेका रास्वपाका नेतालाई ओलीको प्रश्नः जुठो परेको थियो, काट्टो खान आउनु भो ?

काठमाडौँ– सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता भेटिन सक्ने सवै सहकारीका कागजपत्र प्रहरीले टकटक्याउन थालेपछि रास्वपाका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग हारगुहार गर्न मध्येराती बालुवाटार पुगेको खुलेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेलाई ‘बचाइदिनु पर्यो’ भन्दै उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियार मध्येराती बालुवाटार पुगेको खुलेको हो। एमाले केन्द्रीय सदस्य विष्णु रिजालले आज सामाजिक सञ्जालमा ‘सभापतिलाई बचाइदिनु पर्यो’ भन्दै आग्रह गर्न पुगेको उल्लेख गरेका छन्।
‘डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेजस्तो उहाँले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न’, उनले फेसबुकमा लेखेका छन्–‘दिनभर प्रधानमन्त्रीको शव बनाएर दाहासंस्कार गर्ने अनि राति–राति कुन मुख लिएर बालुवाटार जान सकेको ?’
‘दिनभरि प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति–राति कुन मुख लिएर बालुवाटारमा कुरेर रविजीलाई बचाइदिनुपर्यो, लौ न भनेर हारगुहार गर्दा हुन् ?’ भन्दै उनले लेखेका छन्।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले पनि सोमबार साँझ डीपी अर्याल र सन्तोष परियार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको जनाएका छन्। जनआस्था साप्ताहिकका अध्यक्ष एवम् प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठले पनि यो कुरालाई पुष्टि गरेका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार भेट्न पुगेका अर्याल र परियारलाई प्रधानमन्त्री ओलीले रुख जवाफ दिएर फर्काएका छ। राती साढे ८ देखि ११ बजेसम्म वालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न कुरेर वसेका दुवैलाई प्रधानमन्त्री ओलीले ‘जुठो परेको थियो, काट्टो खान आउनुभो ? अदालतले समात्न अनुमति दिएकोमा सरकारले छाड्ने ठाउँ कहाँ छ र ?’ भन्दै जवाफ दिएर पठाएका छन्।
श्रेष्ठले लेखेका छन्–‘दिनभर पुत्ला डढाएर राती अबेरसम्म भेट्न पालो कुरी बसेका (हिजो राती साढे ८ देखि ११ बजे) माननीयज्यूहरुलाई प्रधानमन्त्रीज्यूले ‘जुठो परेको थियो, काट्टो खान आउनुभो ? अदालतले समात्न अनुमति दिएकोमा सरकारले छाड्ने ठाउँ कहाँ छ र ?’ भनी रुखो नबोल्देको भए कत्ति राम्रो हुने थियो भन्छन् साथीहरू !’