रास्वपा सांसद श्रेष्ठले सार्वजनिक रुपमा अपशब्द बोले, प्रवक्ता झा बचाउमा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले मंगलबार सार्वजनिक प्रतिक्रियामै अपशब्द प्रयोग गरेपछि त्यसको ब्यापक आलोचना भईरहेको छ। सामाजिक सञ्जालमा आलोचनाका प्रतिक्रियाहरु आईरहेका छन्।

पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरिरहेको रास्वपाले मंगलबार बालुवाटार क्षेत्रमा कार्यक्रम राखेको थियो। नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य लगायत रचनात्मक कार्यक्रम गर्ने भनिए पनि प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्यो।

५० वढि नेता÷कार्यकर्तालाई पक्राउ गरेर प्रहरीले साँझपख मात्रै रिहा गर्यो। पक्राउकै क्रममा श्रेष्ठले अपशब्द प्रयोग गरे। रास्वपा संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले प्रदर्शनका क्रममा प्रहरीले आफ्ना पार्टीका नेता–कार्यकर्ता पक्राउ गरेको भन्दै आक्रोश पोखेका थिए। त्यस क्रममा उनले सरकारलाई गाली गर्ने नाममा अपशब्द प्रयोग गरे सुनिएको थियो।

शान्तिपूर्ण प्रदर्शनको अधिकारसमेत सरकारले संकुचित गरेको भन्दै प्रहरी हस्तक्षेपको विरोध जनाउन उनले अपशब्द बोलेका हुन। ‘शान्तिपूर्ण प्रदर्शन पनि गर्न नपाइने भए त यो व्यवस्था माथि नै हामीले प्रश्न उठाउने बेला भयो त। के तन्त्र हो अब यो, गणतन्त्र हो कि ‘…तन्त्र हो ?’ भन्दै उनले प्रश्न गरेका थिए।

उनको यो अपशब्द प्रयोगलाई स्विकार्ने र सुधार्ने/सच्याउने भन्दा पनि अन्य नेताहरु समेत बचाउमा देखिएका छन्। रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले सार्वजनिक रुपमा आफ्ना सांसदले बोलेको अपशब्द गलत भएको बताएपनि त्यस्तो शब्द बोलिरहँदाको परिस्थिति पनि बुझ्नुपर्ने तर्क गरे।

झाले भने– ‘यो विषयमा मैले विराजजीसँग कुरा गरेको थिएँ। उहाँले प्रहरीबाट सांसदमाथि नै हातपात हुने, कठालो समात्ने काम हुन थालेपछि रिसको झोंकमा त्यस्तो बोल्न पुगेको बताउनुभएको छ।’

यता समाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने यसैगरी हरेक गलत काम र अपराधका पछाडिको परिस्थिती हेर्दै जाने हो भने भोलीको अवस्था के होला ? भन्दै प्रश्न गरेका छन्। मुलुकका मुख्य राजनीतिक दल, त्यसमाथि सुशासन र आदर्शका कुरा गर्ने पार्टीका जिम्मेवार नेता र सांसदकै बोली यस्तो भएपछि नागरिकले के सिक्ने र के अपेक्षा गर्ने भन्दै उनीहरुले औला उठाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट