महोत्तरीमा विवाहेत्तर सम्बन्धका कारण महिलाको हत्या, श्रीमान श्रीमती पक्राउ

जनकपुर– धनुषा घर भई महोत्तरीको मटिहानी नगरपालिका–५ मा वस्दै आएकी एक महिलाको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको छ। गणेशमान चारनाथ नगरपालिका गोदार घर र धनुषाकै शहिद नगर नगरपालिका–७, यदुकोहा (निमुवा) माईती भएकी लक्ष्मिनिया देवी (२८) को हत्या भएको हो।
गत १३ कात्तिकमा महोत्तरीको पिपरा गाउपालिका–७, दनौली चौरीमा उनको शव फेला परेको थियो। स्थानीय अशोक ठाकुरको आँप बगैचामा अनुहार जलाईएको अवस्थामा मृत फेला परेकी लक्ष्मीनियाँको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ।
हत्या आरोपमा प्रहरीले महोत्तरीको मटिहानी नगरपालिका–५ का राकेश नायक र उनकी श्रीमती रीनालाई पक्राउ गरेको छ। प्रहरीले मृतकका श्रीमानसँग सम्पर्क भएको र उनी शव सनाखतका लागि आउँदै गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर विशाल सिंहका अनुसार मृतक लक्ष्मिनियादेवी केही समयदेखि आरोपी नायककै घरमा बस्दै आएको खुलेको छ। त्यसैले हत्याको कारण अवैध सम्बन्ध नै हुन सक्ने प्रहरीको प्रारम्भिक अनुशन्धानले देखाएको छ। थप अनुशन्धान भईरहेकाले यकिन कारण यही नै हो भन्ने अवस्था नभएको इन्स्पेक्टर सिंहले वताए।
लक्ष्मीनियाँदेवीको हत्यापछि उनैले लगाएको सल मुखमाथि राखेर आगो लगाई अनुहार जलाईएको थियो। तर, थोरै मात्रै जलेकाले शवको पहिचान गर्न सहज भएको प्रहरीको भनाइ छ।
यो पनि,
अनुहार जलाईएको अवस्थामा महिलाको शव भेटियो, हत्या गरी पहिचान लुकाउन जलाएको खुलासा