रवि लामिछाने अझै १० दिन हिरासतमा वस्ने, अदालतले दिएन छोड्ने आदेश

काठमाडौँ– पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अझै १० दिन प्रहरी हिरासतमा वस्ने भएका छन्।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनीविरुद्ध अनुसन्धान गर्न अदालतले प्रहरीलाई थप १० दिन म्याद दिएको हो। दोस्रोपटक थपिएको म्याद १५ कात्तिकमा सकिएको थियो। सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको हो।

कास्की जिल्ला अदालतधका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो। प्रहरीले भने अनुसन्धानका लागि थप २५ दिनको समय मागेको थियो।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए। सोही दिन राति करिव ३ वजे स्थलमार्ग हुँदै उनलाई पोखरा पुर्याईएको थियो। लामिछानेलाई पोखरा पुर्याएको दिन शनिबार परेकाले ४ कात्तिकमा मात्रै अदालत उपस्थित गराइएको थियो। त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो।

सभापति पक्राउको विरोधमा रास्वपा कार्यकर्ता तथा समर्थकले प्रदर्शन गर्दै आएका छन्। मंगलबार पनि जिल्ला अदालत अगाडि रास्वपाका नेता÷कार्यकर्ताले प्रदर्शन गरे। उनीहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो।

प्रदर्शनकारी मध्ये ८ जनालाई पक्राउ परेका छन्। सहकारीको रकम अपचलनकै विषयमा लामिछाने, गोर्खा मिडिया नेटवर्ककै सञ्चालक छविलाल जोशीसहित चार जनालाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा मङ्गलवार सुनुवाइका लागि उपस्थित गराइएको थियो।

अर्को सहकारी प्रकरणमा रूपन्देही जिल्ला अदालतले समेत लामिछानेलाई अनुसन्धानका लागि पक्राउ गर्ने अनुमति दिएको छ। ठगी तथा सङ्गठित अपराधको अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो। उनका आलोचकहरूले ‘सहकारी ठगीको रकमको दुरुपयोगमा लामिछानेको पनि हात रहेको’ भन्दै त्यसबाट उनले उन्मुक्ति पाउन नसक्ने बताउने गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *