२ महिनाअघि जेलबाट छुटेर गाउँमा आतंक मच्चाएपछि प्रहरीको खोजी सूचिमा रहेका युवाको हत्या
विराटनगर– २ महिनाअघि जेलबाट छुटेर गाउँमा आतंक मच्चाएपछि प्रहरीको खोजी सूचिमा रहेका संखुवासभाका एक युवकको हत्या भएको छ।
चिचिला गाउँपालिका–३ का विकाश राई (३६) को हत्या भएको हो। उनको गत १८ कात्तिक (भाईटीका) को दिन हत्या भएको र शव भने शनिबार भीरमा भेटिएको प्रहरीले जनाएको छ। शव सडेगलेको अवस्थामा शव फेला परेको छ।
आइतबार बिहान भिरबाट निकालेर शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको संखुवासभा प्रहरीका डीएसपी दक्षकुमार बस्नेतले बताए। विकाशको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चिचिला–३ कै प्रदीप राईलाई पक्राउ गरेको छ।
प्रदीपले प्रहरीलाई शबको विषयमा जानकारी दिएका थिए। प्रहरीका अनुसार विकास आपराधिक पृष्ठभूमिका ब्यक्ति हुन। लागू औषध मुद्दामा जेल वसेर २ महिनाअघि मात्रै छुटेका उनी गाउँमा अपराधिक कृयाकलापमा सकृय थिए।
केही दिनअघि गाउँलेहरुले ‘विकाशबाट असुरक्षित भयौं’ भन्दै प्रहरीमा सुरक्षा मागेका थिए। त्यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। प्रहरीका अनुसार यसअघि १७ मंसिर ०८० मा उनी गाँजासहित पक्राउ परेका थिए।
खाँदबारी नगरपालिका–७ बाट पक्राउ परेका विभिन्न मुद्दामा १० पटकभन्दा वढि पक्राउ परिसकेको स्थानीय वताउँछन्। प्रहरीका अनुसार विकाशले विभिन्न व्यक्तिहरुलाई आक्रमण एवं कुटपिट गर्ने, व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने तथा लागुऔषध बिक्री गर्ने गरेका थिए।
उनीविरुद्ध ६ पटक सार्वजनिक अपराध, २ पटक ज्यान मार्ने उद्योग र २ पटक लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलेको थियो।