कुबेलाको हाँसोः शव यात्रा र श्रद्धाञ्जली सभामा प्रशन्न मुद्रामा उपेन्द्र यादव र उपसभामुख इन्दिरा राना

काठमाडौँ– २३ फागुन ०७३ मा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियानलाई तत्कालिन मधेशी मोर्चाले सप्तरीमा अवरोध गर्यो।

मधेश विरोधी अभिब्यक्ति दिएको आरोप खेपीरहेका तत्कालिन प्रधानमन्त्रीसमेत रहेका ओली र उनको पार्टी एमालेलाई मधेश छिर्नै नदिने घोषित नीति लिएको मधेशी मोर्चाले बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र भईरहेको एमालेको सभालाई विथोल्न खोज्यो।

सोही क्रममा मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भयो। झडप तथा त्यस आसपासमा भएको प्रहरीको गोलीकाण्डमा ५ जना सोझासाझा मधेशी नागरिकले ज्यान गुमाए। गोली काण्डमा मृत्यु भएका ५ सहिदको अन्तिम विदाईका लागि २८ फागुन (शनिवार) मा शवयात्राको आयोजना भयो। राजविराजमा निकालिएको शवयात्रामा मधेसवादी दलका शीर्ष नेता सहभागी थिए।

शव यात्रामा सहभागि भएका सवै नेता/कार्यकर्ताको अनुहारमा आक्रोश र पीडा थियो। तर, तत्कालिन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अनुहार भने शवयात्रा सुहाँदो देखिएन। उनी हाँसिरहेका देखिए। मृतकको शोकमा निकालिएको शोक र्‍यालीमा मधेसवादी दलका नेताको अनुहारमा हासो देखिएपछि कतिपयले फोटो खिचे। उनको त्यो फोटो कतिपय मिडियाले प्रकाशित पनि गरे। त्यो फोटोका कारण उपेन्द्रको त आलोचना भयो नै फोटो खिच्ने ब्यक्तिमाथि पनि सुरक्षा थ्रेट थपियो।

०७३ सालको पुरानो कुरा किन उत्खनन् भयो भन्ने धेरैलाई लाग्न सक्छ। तर, सोमबार यस्तै घट्नाको पुनारावृत्ति भएपछि प्रसंगवस यो प्रकरण सम्झना गरिएको हो। उपेन्द्रकै जस्तो असुहाउँदो देखिएको सोमबारको घट्ना चाहीँ काठमाडौँको सानो गौचरनको हो।

प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम विदाईका लागि श्रद्धाञ्जली दिन उपस्थित सवैको अनुहार मलिन थियो भने ढुंगाना परिवार शोकमा थियो। यता, त्यही श्रद्धाञ्जली समारोहामा उपस्थित उपसभामुख इन्दिरा रानाको हाउभाउ भने श्रद्धाञ्जली स्थल सुहाउँदो थिएन। एमाले सांसद रघुजी पन्तसँग गफिँदै गरेकी राना प्रसन्न मुद्रामा देखिएकी थिइन्। गफका क्रममा उनको हाँसो रोकिएको थिएन।

शोक मनाउन पुगेकी उनी कुन कुरामा यसरी हाँसिन भन्ने खुलेको छैन। तर, उनलाई नियालिरहेकाहरुले भने उनको उपस्थितीले पूर्वसभामुख ढुङ्गानाको अन्तिम विदाईलाई नै उपहास गरेको प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट