मदिरा तस्करद्वारा हत्या गरिएका सईका आफन्तको प्रदर्शनका कारण लहान तनावग्रस्त

लहान– मदिरा तस्करद्वारा हत्या गरिएका सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवका आफन्तको प्रदर्शनका कारण सिरहाको लहान तनावग्रस्त भएको छ।
आफन्तसहित स्थानीय बासिन्दाले पूर्व–पश्चिम सडकको लहानखण्डमा आइतबार बिहान ९ बजेदेखि करिब अढाई घण्टा अवरुद्ध गरेका छन्। टायर बालेर सडक अवरुद्ध गरेका उनीहरुले दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेलगायतका माग राखेका छन्।
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिराहाको बरियारपट्टि गाउँपालिका– १ कचनारी नरगीमा आइतबार बिहान करिव ३ बजे सइ ४८ वर्षीय यादवको हत्या भएको थियो। सिराहाको नरहा गाउँपालिका– ४ लालभितियाका घर भएका उनी सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट बडहरीमा कार्यरत थिए।
नेपालबाट भारततर्फ जाँदै गरेको नम्बर नखुलेको चारपांग्रे गाडीको ठक्करबाट यादवको घटनास्थलमै मृत्यु भएको थियो। बिहान अँध्यारो र हुस्सुको वेला सइ यादवलाई ठक्कर दिएको गाडी सीमा पार गरी भारततर्फ भागेको जनाईएको छ।
आउटपोस्टका इन्चार्ज बिदामा रहेकाले मृतक यादव केही दिनदेखि निमित्त इन्चार्ज थिए। उनलाई मदिरा तस्करी गरी भारततिर लैजाँदै गरेको सूचना आएको थियो। त्यसैले नेपाल प्रहरी सहित ८ जनाको टोली लिएर उनी नाका क्षेत्रमा पुगेका थिए।
प्रहरीसँग गाडीमा मदिरा लोड भएको ठाउँको नामसहित गाडीधनी र सामानको विषयमा पोख्त सूचना थियो। सूचना अनुसार उत्तरतिरबाट गएको चारपांग्रे गाडीलाई सई यादवले रोक्न खोजे । तर, गाडी नरोकी उनलाई नै ठक्कर दिएर भागेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी वीरेन्द्र पासवानले बताए। घटनाबारे अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने उनको भनाइ छ।
मृतकका आफन्तले सूनियोजित रुपमा लक्ष्मणको हत्या भएको वताएका छन्। उनीहरुका अनुसार गत बिहीबार सीमावर्ती औरही गाउँपालिकाको इँटाटारबाट मदिरासहितको पिकअप भ्यान पक्राउ परेको थियो।
अवैध रूपमा मदिरा बोकेर भारत गइरहेको अवस्थामा सशस्त्र प्रहरीले पिकअप भ्यान पक्राउ गरेको थियो। त्यो घट्नाबाट आत्तिएको तस्कर समुहले सई यादवको हत्या गरेको उनीहरुको आरोप छ। लक्ष्मणलाई ठक्कर दिएर करिव १० मिनेटको दुरीसम्म कच्ची सडकमा घिसारिएको उनीहरुको आरोप छ।
गस्तीमा रहेका कमान्डरलाई किचेर मार्दा समेत प्रहरीले जवाफी कारवाही नगरेको भन्दै उनीहरुले आश्चर्य ब्यक्त गरेका छन्। ०५७ सालमा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका यादवका श्रीमती र २ छोरी छन्। उनी १ महिना बिदा बसेर तीन दिनअघि मात्रै ड्युटीमा फर्किएका थिए।