सामाजिक सञ्जालमा चर्चामा रहेका टंक दाहाल प्रहरी निगरानीमा, अमेरिकामै पक्राउ पर्न सक्ने

काठमाडौँ– विदेशमा बसेर ‘नो बकबास, वन्ली प्रुफ’ भन्दै ‘टंक दाहाल’, ‘टेक टंक’ लगायतका युट्युव च्यानलमार्फत नेपालमा भ्रम फैलाएको र आतंक सृजना गरेको विषयमा युट्युबर टंक दाहाल प्रहरी निगरानीमा रहेको खुलेको छ।
अमेरिकामा बसेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई दिग्भ्रमित गर्दै नेपालमा आतंक सृजना गर्ने काम नरोके उनलाई अमेरिकामै पक्राउ गर्ने तयारीसमेत प्रहरीले गरिरहेको जनाईएको छ। अमेरिकामा वसेपनि उनले मुलधारका नेपाली मिडियालाई गाली गर्दै आफूलाई खोज पत्रकार बताउने गरेका छन्।
टंकले आफुसँग देश हल्लाउने, बिस्फोट हुन सक्ने र सत्ता उलटपुलट हुने अडियोहरु रहेको भन्दै तर्साउने गरेका छन्। सहकारीको अरबौ रकम दुरुपयोग गरेको आरोप लागेपछि फरार रहेका जीबी राईका विषयमा उनले निकै भीडीओहरु बनाएका छन्। ‘भदौमै नेपाल आएका जिबी राईलाई रातारात कसले भगायो ?, जिबी राईतर्फको भनिएको अडियोबारे सत्य के हो?’ लगायतका भीडीओ पनि उनले नै बनाएका हुन।
यतिमात्रै होईन, विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको ३२ अर्ब लगानी रहेको भन्दै सतहमा ल्याएपछि टंकले त्यो विषयमा पनि भीडीओ बनाएका थिए। प्रसाईले ‘मैले सार्वजनिक गरेको डकुमेन्ट अरुले नै पठाई दिएको र अरुको भरोसामा पर्दा गल्ती भएको’ भन्दै प्रहरीमा बयान दिएका छन्। तर, टंकले भने ‘सत्यको चिरफार’ भन्दै भीडीओ बनाएर कम्बोडियामा ओलीको लगानीलाई पुष्टि गराउने प्रयास गरेका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एक अधिकारीका अनुसार उनीमाथि प्रहरीले निगरानी राखिरहेको छ। उनले बनाएका भिडियोहरुबारे पनि अनुसन्धान भइरहेको उनले वताएका छन्। नेपालमा आतंक फैलाउने भीडीओ बनाउने क्रम नरोकिएमा टंकलाई पक्राउ गर्न रेड कर्नर नोटिससम्म जारी हुन सक्ने उनको भनाई छ।
स्रोतका अनुसार अमेरिकी नागरिक भैसकेका टंकले त्यसपछि पनि नेपाली नागरिकता बोकेर हिँडिरहेका छन्। त्यस विषयमा समेत प्रहरीले दूतावाससँग जानकारी मागेको जनाईएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्नेहरु विदेशमै भएपनि कानुनको दायरामा आउने बताए।