राष्ट्र र राष्ट्रियताका नाममा प्रसाईँको असुली धन्दाः धम्क्याउन र पैसा उठाउन टिमै परिचालन गरेको खुलासा

काठमाडौँ– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईले व्यवसायीलाई धम्क्याएर पैसा उठाउन भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा टिम नै परिचालन गरेको प्रहरी अनुशन्धानमा फेला परेको छ।
प्रसाईको टिममा भारतमा बसेर व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुयाल वाहेक अन्य ३ जना संलग्न रहेको अनुसन्धानमा संलग्न अधिकृतहरूले वताएका छन्। फुयल पक्राउ परेपछि ‘व्यवसायीलाई धम्क्याउन आफूलाई प्रसाईंले ५ लाख दिएको’ बयान दिएका छन्।
फुयलमाथि अनुसन्धान गर्दै जाँदा प्रसाईंले परिचालन गरेका थप ३ जनाको कनेक्सन भेटिएको छ। ती मध्ये २ जना नेपालमा र १ जना विदेशमा रहेको पाईएको छ। उनीहरूलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरिरहेको छ।
यो समुहले मारवाडी समुदाय र राष्ट्र बैंकका उच्च अधिकृतहरूलाई धम्क्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सामाजिक सञ्जाल ‘ह्वाट्स एप’ मार्फत आफूलाई धम्की आएको भन्दै ६ जनाले प्रहरीलाई जानकारी समेत गराएका छन्।
प्रहरीले भने प्रसाईंको समूहले ६ जना वाहेक अन्य व्यवसायीलाई पनि धम्की दिएर रकम असुलेको हुनसक्ने आशंका गरेको छ। २१ असोजमा सामाजिक अभियन्ता पुण्य गौतममाथि भएको आक्रमण पनि प्रसाईंले नै गराएको अनुसन्धान अधिकृतहरू बताउँछन्। गौतममाथि आक्रमण गरेपछि उनले अन्य व्यवसायीलाई पनि आक्रमण गर्ने धम्की दिएर रकम असुलेको प्रहरीको आशंका छ।
विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा प्रहरीले ४ मंसिरमा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। त्यो मुद्दामा उनलाई अदालतले धरौटीमा रिहा गरेपछि प्रहरीले अर्को मुद्दामा पक्राउ गरेर हिरासतमा राखेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईं विरुद्ध संगठित अपराधमा अनुसन्धान सुरु गरेको छ। अहिले उनीविरुद्ध आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराधमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका एआईजी दीपक थापाले बताए।
प्रसाईंले बयानमा भने आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन्। प्रसाईँ ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक समेत हुन।