धार्मिक यात्रामा हिँडेको विंगर दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जनाको अवस्था गम्भिर

काठमाडौँ– कपिलवस्तुको चन्द्रौटाबाट धार्मिक यात्रामा निस्किएका १४ जना यात्री बोकेको विंगर दाङको देउखुरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन्।
बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको विंगर सोमबार बिहान लमही नगरपालिका–९ स्थित लमही–कोहलपुर सडकखण्ड (च्याउ खोला) मा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका–३ का ६० वर्षीय फुलसी थारु र सोही ठाउँका ४२ वर्षीय तिर्थी थारुको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख कविराज रोकायका अनुसार शिवराज–३ का ४५ वर्षीय मिथिया थारु, ६५ वर्षीय तेहली थारु, ७७ वर्षीय दर्शनी थारु, ६० वर्षीय महँगी थारु, ४० वर्षीय सरीता थारु, ५५ वर्षीय रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीय फुलबजनी चौधरी, ४५ वर्षीय बुद्धि थारु, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाईते छन्।
घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ। तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरीको आंकलन छ।