माघे संक्रान्तिले दुई दिन लम्ब्यायो रवि लामिछानेको हिरासत बसाई, बुधबार अदालतमा उपस्थित गराईने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अझै कम्तिमा बुधबारसम्म न्यायिक हिरासतमा बस्नु पर्ने भएको छ। सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि पर्सि (बुधबार) हुनेगरी आजका लागि सकिएको छ।
भोलि (मंगलबार) माघे संक्रान्ति र माघीको सरकारी बिदा भएका कारणले बुधबार मात्रै थुनछेक बहस हुने भएको हो। यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने छन्।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको थियो। उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए। लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ।