इटहरीका २३ वर्षीय विद्यार्थीको हत्या आरोपमा पक्राउ परेका भट्ट जेल चलान, अर्का धरौटीमा छुटे

काठमाडौँ– सुनसरीको इटहरी घर भइ सातदोबाटो बस्दै आएका २३ वर्षीय विद्यार्थी नयन गुरुङको हत्या आरोपमा पक्राउ परेका दुईमध्ये एकजना कारागार चलान भएका छन्। अदालतले अर्कालाई धरौटीमा रिहा गरेको छ।
हत्या आरोपमा पक्राउ परेका ललितपुर महानगरपालिका–९ च्यासलस्थित द टाउन क्याफेको काउन्टरमा काम गर्ने २६ वर्षीय हेमराज भट्ट कारागार चलान भएका हुन। अर्का प्रतिवादी काभ्रेको मण्डनदेउपुर नगरपालिका–११ का जनकबहादुर तामाङलाई अदालतले ४० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। उनी धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश पुनाराम खनालको ६ माघको इजलासले भट्टलाई पूर्पक्षका लागि कारागार पठाउने र तामाङलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
सुनसरीको इटहरी घर भइ गुरुङको गत ८ पुसमा हत्या भएको थियो। हत्या आरोपमा प्रहरीले भट्ट र सोही क्याफेमा काम गर्ने जनकबहादुरलाई पक्राउ गरेको थियो।
प्रहरीले अनुसन्धानपछि भट्टलाई मुख्य प्रतिवादी र तामाङलाई मतियार बनाएर मुद्दा दर्ता गरेको थियो। बिल तिर्ने विषयमा विवाद हुँदा भट्टले गुरुङमाथि चक्कु प्रहार गरेको खुलेको थियो। चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा सोही राति बीएन्डबी अस्पतालमा मृत्यु भएको थियो।