बराह सहकारी ठगी प्रकरणमा अदालतले अध्यक्षकी पूर्वपत्निसमेतलाई छोडेन, रिनासहित ८ जना थुनामा

विराटनगर– सुनसरीस्थित बराह ग्रुपअन्तर्गतको बराह बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले अध्यक्ष शिव लामिछानेकी पूर्वपत्नी रिना राईसहित ८ जनालाई थुनामा पठाएको छ।
थुनछेक बहसपछि न्यायाधीश मुकेश उपाध्यायको बुधबारको इजलासले उनीहरुलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको हो। पौने ११ अर्ब बचत अपचलन गरेको अभियोगसहित २ सय ६२ जनालाई प्रतिवादी बनाईएको मुद्दामा ११ जना पक्राउ परेका थिए।
प्रतिवादीमध्ये मानबहादुर विश्वकर्माकी पत्नी जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता (कालिकोटे) विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल (सुनार), फूलमाया राई (फूलकुमारी), सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई र विक्रम गजमेर पक्राउ परेका थिए।
ती मध्ये ३ जना धरौटी बुझाएर रिहा भएका छन् भने ८ जना कारागार चलान भएको जनाईएको छ। जतनमाया, सरिता र विष्णुकुमारी जनही ५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले जानकारी दिए।