पूर्वमन्त्री मृगेन्द्रकी छोरीले नचाएको भाईरल पेस्तोल सर्लाहीबाट बरामद, नेतृ सप्तरी प्रहरीमा
राजविराज– जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले हवामा नचाउँदै हवाई फायर गरेको पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको छ।
सामाजिक सञ्जालमा उनले पेस्तोल पड्काउँदै नाचेको भीडीओ भाईरल भएपछि खोजतलास सुरु गरेको थियो। सोही क्रममा उक्त पेस्तोल सर्लाहीको मलंगवा नगरपालिका–२, भाँडचौरका अञ्जनी कुमारको घरबाट बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा उपस्थित भएकी बबी सिंहसँग प्रहरीले सोधपुछ गर्दा हतियार सर्लाहीमा भएको पत्ता लागेको हो। त्यसपछि सर्लाही प्रहरीले अञ्जनी कुमारको घर खानतलासी गर्दा पेस्तोल भेटिएको जनाईएको छ। प्रहरी स्रोतका अनुसार उक्त पेस्तोल बारुद मात्रै पड्किने किसिमको रहेको खुलेको छ।
हालसम्मको जानकारी अनुसार ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएको खुलेको छ। उनको १२ वैशाखमा भारतको सीतामढीका युवकसँग विवाह हुने तयारी थियो।
सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की सिंहलाई भने सप्तरी प्रहरीले बोलाएर सोधपुछ गरेको छ। हतियार सर्लाहीमा बरामद भएपछि घट्नाको विस्तृत अनुशन्धान भने सर्लाही प्रहरीले नै गर्ने सप्तरीका एसपी ढकेन्द्र खतिवडाले वताए।
नेृत सिंहले नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो। भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ। पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ। त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ।
डा. बबी जसपा नेपालका उपाध्यक्ष र राष्ट्रिय सभा सदस्यसमेत रहेका पूर्वमन्त्री मृगेन्द्र सिंह यादवकी छोरी हुन्। उनले उक्त भीडीओ भारतको सीमावर्ती सहर सीतामढीको र पेस्तोल असली नभएर खेलौना रहेको दाबी गरेकी थिईन।
‘मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाई बहिनीहरुको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरु सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु’ उनले भनेकी छिन्–‘मेरो मामाको घरमा अत्यन्तै व्यक्तिगत र पारिवारिक समारोहमा एक छिन भाइबहिनी र परिवारका सदस्यहरुसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई कुनै तथाकथित ‘यूट्युब पत्रकार’ले सन्दर्भ र अनुमति बिना आफ्नै सामग्रीजस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्नु पत्रकारिताको अपमान मात्र होइन, प्रेस आचारसंहिताको उल्लङ्घन पनि हो, जसको म घोर भत्र्सना गर्दछु।’
उनले यो सामग्रीलाई सामाजिक सञ्जालमा प्रश्तुत गर्नु महिला विरोधी सोचका रुपमा समेत टिप्पणी गरेकी छिन्। ‘वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार के पुरुषहरुको मात्रै हो ? महिलाले एक छिन नृत्य गर्दा वा रमाइलो गर्दा आकाश नै खसेको जस्तो सोच्ने पितृसत्तात्मक मानसिकताप्रति म गहिरो खेद प्रकट गर्दछु।’– उनले फेसवुकमा लेखकी छिन्।

यो पनि,


