हरित पार्क निर्माणमा ठेक्कापूर्व लेनदेनको शंका, डिभिजन वन कार्यालयमा ठेकेदार र कर्मचारीको हानाहान

जनकपुर– प्रदेश सरकारको करिव २० लाखको लगानीमा महोत्तरीको जलेश्वरमा निर्माणाधिन ‘हरित पार्क’को ठेक्का र ठेक्कापूर्व नै भएको गोप्य लेनदेनका कारण डिभिजन वन कार्यालयमा कर्मचारी र ठेकेदारको कुटाकुट भएको छ।
डिभिजन वन कायालयका लेखा अधिकृत रामसुलित महतोमाथि हरित पार्क निर्माणको ठेक्का लिएका एनके कन्सट्रक्सन जलेश्वरका प्रतिनिधि दिनेश चौधरीले मंगलबार कुटपिट गरेको आरोप लागेको छ। दिनेशले आफुलाई ज्यान मार्ने धम्कीसमेत दिएको भन्दै महतोले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन।
उनका अनुसार मंगलबार बिहान साढे ११ बजे कार्यकक्षमै पसेर चौधरीले गालीगलौज गर्दै हातपात गरेको उजुरीमा उल्लेख छ। ठेक्का सम्झौता अनुसार काम नभएपछि आफुले प्रश्न उठाउँदा निर्माण ब्यवसायी आवेशमा आएर हातपात गरेको महतोको भनाई छ। ‘फिल्डमा सम्झौता अनुसारको काम नभएको जस्तो लागेपछि मैले आवश्यक कागजात देखाउन भनेको थिएँ। तर उनले उल्टै हातपात गरे र भुक्तानी दिन दबाब दिए।’– महत्तोले भने।
महतोले पार्क निर्माणको गुणस्तर तथा मापदण्ड अनुरूप नदेखिएको भन्दै १६ लाख ४४ हजार रुपैयाँको रनिङ बिल भुक्तानीमा रोक लगाएका थिए। तर इन्जिनियर राकेश पाण्डे, कार्यालय प्रमुख अजय मिश्र र व्यवसायी चौधरीसँगैसमेतले उक्त भुक्तानीका लागि दबाब दिएको उनले बताए। ‘भुक्तानी रोकेपछि उनिहरुको योजना पुरा भएन, त्यसपछि ममाथि हमला भयो। बचाउन आएका वनरक्षकलाई समेत प्रमुख मिश्रले सरुवा गरिदिएको महतोको भनाई छ।
डिभिजन वन कार्यालयका कतिपय कर्मचारीले भने ठेक्कामा भएको अपवित्र लेनदेनका कारण यो अवस्था आएको दावी गरेका छन्। उनीहरुका अनुसार सम्झौता हुनुअघि नै केही व्यवसायीसँग आर्थिक लेनदेन भएको छ। ‘कार्यालय परिसरमा ५० लाखको भवन निर्माणका लागि ४० प्रतिशत बिलोमा ठेक्का लागेको छ। तर, २० लाखको पार्क निर्माण भने नाम मात्रको प्रतिस्पर्धा देखाएर ४ हजार मात्र घटाई ठेक्का दिइएको छ।’– उनीहरुले भने।
ठेक्का पाएका निर्माण व्यवसायी दिनेश चौधरीले भने आफूले हातपात नगरेको दाबी गरेका छन। ‘भुक्तानी कहिले हुन्छ भनेर सोध्न गएको मात्रै हो।’– उनले भने। सीडीओ नारायण प्रसाद रिसालले घट्ना बारे डिभिजन वन कार्यालयका प्रमुख अजय मिश्रलाई बोलाएर सोधपुछ गर्ने काम भईरहेको जानकारी दिए।
जानकारी अनुसार बन कार्यालयले २३ माघ ०८१ मा सूचना प्रकाशन गरी ठेक्का आह्वान गरेको थियो। जसमा पाँच व्यवसायीले आवेदन दिएका थिए। तर प्रतिस्पर्धामा तीनले मात्र भाग लिएपछि न्यूनतम मूल्य प्रस्तावकलाई १९ लाख ९५ हजार ९ सय ३३ रुपैयाँमा ठेक्का दिइएको थियो। पार्क निर्माणको लागि १७ सय वर्गमिटरमा माटो पुरी पीसीसी ढलान र ब्लक राख्ने तथा वृक्षारोपण गर्ने सम्झौतामा उल्लेख छ। तर निर्माणाधीन स्थलमा २.५ फिटको सट्टा १.५ फिट मात्रै माटो हालेको र रंगिन ब्लकको सट्टा साधारण ब्लक प्रयोग गरिएको जनाईएको छ। यही विषयमा लेखा अधिकृत महतोले आपत्ति जनाएका थिए।