प्रहरी सुरक्षा बीच राजविराज नगरपालिकाकी कार्यवाहक मेयर सात घण्टापछि कार्यालयबाट बाहिरिइन (फोटो फिचर)

राजविराज — निलम्बित मेयर भीमराज यादव नेतृत्वका आन्दोलनकारीहरूको विरोध प्रदर्शनका कारण कार्यालयभित्रै थुनिएकी राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनलाई प्रहरीले सात घण्टापछि सुरक्षा दिँदै बाहिर निकालेको छ।

नगरपालिकामा प्रशासनिक निर्णयलाई लिएर बढेको राजनीतिक तनावका कारण आईतबारदेखि कार्यालयमा आन्दोलन जारी छ। यसैबीच, कार्यवाहक मेयर परविन, आजै पदभार ग्रहण गरेका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादव र केही वडाध्यक्षलाई आन्दोलनकारीहरूले कार्यालयभित्रै थुनेका थिए।

सुरक्षा व्यवस्था मिलाउँदै प्रहरीले कार्यालय समय सकिएपछि साँझ पाँच बजे परविनलाई आफ्नै गाडीमा राखेर सुरक्षित रूपमा निवास पठाएको छ। नगरपालिकाको बाहिर निलम्बित मेयर यादवका समर्थक र आन्दोलनकारीहरू विहानदेखि विरोध प्रदर्शन गरिरहेका छन्। आईतबार कार्यालयमा तालाबन्दी गरेर रिले अनसन पनि जारी रहेको छ।

यो समस्या प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सरुवा र त्यसपछि नियुक्त भएका भोगेन्द्र यादवको पदस्थापनसँग जोडिएको छ। साहले आर्थिक अनुशासनमा कडाइ गर्दै प्रक्रियागत कमजोरी भएका योजनाका फाइलहरू रोक्दै आएका थिए। जसका कारण भुक्तानी प्रक्रिया ढिलाइ भएको थियो। साहकै कारण करिब १० लाख रुपैयाँ राजस्व हिनामिनाको प्रकरण पनि सार्वजनिक भएको थियो।

तर, साहको सरुवा गरी शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको विषयमा आन्दोलनकारीहरू रुष्ट छन्। उनीहरूले भ्रष्टाचारको ढाकछोप गर्न षडयन्त्रपूर्वक साहको सरुवा गराइएको र यादवलाई जिम्मेवारी दिइएको आरोप लगाएका छन्।

तर कार्यवाहक मेयर परविनले आन्दोलनकारीलाई बेवास्ता गर्दै आएकी छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यादवलाई जिम्मेवारी दिएपछि मंगलबार विहान प्रहरी सहयोगमा आन्दोलनकारीले लगाएको ताला फोडेर कार्यालयमा प्रवेश गरिन। त्यसपछि यादवलाई पदभार ग्रहण गराइन।

त्यसको आक्रोशमा आन्दोलनकारीहरूले कार्यालयमा तोडफोड गरेका छन् भने लेखापाल शत्रुघन दाससहित केही कर्मचारीहरूलाई कुटपिट गरेका छन्।

यस प्रकरणले राजविराज नगरपालिकामा प्रशासनिक निर्णयको पारदर्शिता, कानुनी प्रक्रिया र समन्वयको अभाव देखाएको छ। अर्कोतर्फ राजनीतिक दलहरूबीचको शक्ति संघर्षले स्थानीय जनतामा चिन्ता र असन्तुष्टि पनि बढाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *