पर्सामा सुमो र मोटरसाइकल ठोक्किँदा आगलागी, एक जनाको मृत्यु, एक घाइते

विरगञ्ज– पर्साको बहुदरमाई नगरपालिका–५ पटनीमा शनिबार राति टाटा सुमो र मोटरसाईकल ठोक्किएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

गण्डक नहरको सडकमा शनिबार राति करिव साढे ९ बजे भारतीय नम्बर प्लेट (बीआर ०१ पिए ४४९९) नम्बरको टाटा सुमो र नम्बर खुल्न नसकेको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

ठक्करपछि दुवै सवारी साधन सडक छेउमा निर्माणाधीन नालामा खस्दा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए। आगलागीबाट दुवै सवारीसाधन पूर्ण रूपमा जलेका छन्।

दुर्घटनामा मोटरसाइकल चालक भारत बिहार राज्य, पूर्वी चम्पारण जिल्ला घर भएका ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा पछाडि सवार पर्सा, बहुदरमाई नगरपालिका–५ का १९ वर्षीय रोशन बर्णवाल घाइते भएका छन्। उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

सुमोका चालक भने दुर्घटनापछि फरार रहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनामा जलेको मोटरसाइकलको नम्बर प्लेट नचिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट