इटहरीमा रोटरी क्लव अफ इटहरी र युगलको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न

रोटरी क्लव अफ इटहरी र रोटरी क्लव अफ इटहरी युगलको संयुक्त आयोजनामा नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।
रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गर्भनर नोमिनी प्रा. डा. इश्वरीप्रसाद ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा रोटरी क्लव अफ इटहरीको २९औं र रोटरी क्लव अफ इटहरी युगलको चौथो कार्यसमिति पदस्थापन गरिएको हो।

सो अवसरमा रोटरी क्लव अफ इटहरीका निवर्तमान अध्यक्ष कृष्णराज श्रेष्ठले वर्ष २०२५–२६ का लागि नव–अध्यक्ष देवचरण चौधरीलाई पद हस्तान्तरण गरे। त्यसैगरी, युगल क्लवकी निवर्तमान अध्यक्ष श्रद्धा विष्ट पराजुलीले नव–अध्यक्ष सन्नी चौधरीलाई पद हस्तान्तरण गरिन्।

 

पदस्थापना समारोहमा वक्ताहरूले रोटरी क्लवको सामाजिक सेवा, विकास कार्य र जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान रहेको धारणा राखे। कृषि क्षेत्रमार्फत मुलुकको समृद्धिमा योगदान पुर्याउँदै आएका इटहरी–१७, तरहराका कृपास्वर घले गुरुङलाई ड्रागन फ्रुट खेतीमार्फत आर्थिक उत्पादनमा आत्मनिर्भरता बढाउन गरेको योगदानको कदर गर्दै क्लबले “भोकेशनल अवार्ड २०२५–२६ प्रदान गर्‍यो।

कार्यक्रममा क्लबले सुन्दरहरैंचा–६ स्थित गणेश लिला आधारभूत स्वास्थ्य केन्द्रलाई करिब ४० हजार बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको जानकारी गराइएको छ। यस्तै, इटहरी–१६ को जब्दी आधारभूत विद्यालय र इटहरी–७ स्थित लक्ष्मी माध्यमिक विद्यालयका गरी ६ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोसाक, शैक्षिक सामग्री र जनही पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ।

उक्त कार्यक्रममा रोटरी क्लव अफ इटहरीका अध्यक्ष देवचरण चौधरीले रोटरी वर्ष २०२५–२६ का लागि कार्ययोजना सार्वजनिक गरेका थिए। दुवै क्लवका तर्फबाट गत वर्षका सामाजिक गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै, दुवै क्लबमा दुई–दुई जना नयाँ सदस्यलाई परिचय गराउँदै क्लबमा प्रवेश गराइएको थियो।

विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरी र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलियाले रोटरी क्लवको सामाजिक योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा रोटरीका पूर्वअध्यक्षहरू राजेश श्रेष्ठ, अनन्त विष्ट, लक्ष्मी धिताल, लक्ष्मी कुमारी थेवे, अनिता अधिकारी, विजु श्रेष्ठ, सविना शोभा कोइराला लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट